खोटाङ, १२ असार । यातायात आवतजावतमा समस्या झेल्दै आएका साकेला गाउँपालिकाबासीले छिमेकी स्थानीय तहमा बिग्रिएको सडक श्रमदानमार्फत मर्मत गरेका छन् । स्तरोन्नति नहुँदा बिग्रिएको सडक समयमै नन्दा समस्या भोग्दै आएका साकेला गाउँपालिकाबासीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ क्षेत्रको सडक श्रमदानमार्फत मर्मत गरेका हुन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकखण्ड अन्तरगत लफ्याङ क्षेत्रको सडक वर्षादको समयमा हिलोका कारण गाडी फस्ने, चिप्लने, भासिने लगायतका समस्याले हैरानी खेप्दै आएका साकेलाबासीले श्रमदानमार्फत सडक मर्मत गरेका छन् । गाउँपालिकाको संयोजनमा आयोजित श्रमदानमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, प्रवक्ता जीवन न्यौपाने, वडाध्यक्ष गोविन्द तामाङ लगायत निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यापारी तथा व्यवसायी, नागरिक समाज तथा स्थानीय नागरिक सहभागी भएका थिए ।
गाउँपालिकाको जेसिबी, ट्रक, ट्याक्टर तथा अन्य हाते औजारसहित आएका १५० जनाभन्दा बढी साकेलाबासीले मङ्गलबार लफ्याङस्थित छाप्रीडाँडा, दुवेक्षेत्र लगायतका स्थानमा श्रमदान गरेका छन् । सो सडक समयमै निर्माण सम्पन्न नहुँदा साकेला गाउँपालिकासम्म खाद्यान्न लगायतका समाग्री ढुवानी तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान तथा ल्याउन समस्या हुँदै आएको छ ।
प्राकृतिक रुपमा हुने नाकाबन्दीबाट वर्षेनी मारमा पर्दै आएका साकेलाबासीको समस्यालाई मध्यनजर गर्दै गाउँपालिका आफैले जनश्रमदान जुटाएर छिमेकी पालिकाको सडक मर्मत गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । “साकेला गाउँपालिकाबासीले मात्र प्रयोग गर्ने बाटो नभएर थुप्रै नागरिकहरु यो सडक प्रयोग गर्दै आएका छन् । विशेषगरि खाद्यन्न लगायत विभिन्न सामग्री ढुवानी गर्न र दिक्तेलसम्म आवतजावतमा समस्या खेप्नु परिरहेको छ”, उहाँले भन्नभयो, “अन्य स्थानीय तह र तराईका जिल्लासँग जोड्ने दिक्तेल–साप्सुखोला साकेला सडक अन्तरगत लफ्याङ क्षेत्रमा वर्षेनी समस्या हुँदै आएको छ । जनश्रमदानमार्फत मर्मत गरिएको सडकले केही दिन भए पनि सहज यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
जस्तो सुकै मौसममा पनि साकेला गाउँपालिकाभित्र निर्माण भएको सडकहरुमा समस्या छैन तर, दिक्तेल प्रवेश गरेपछि समस्या भोग्नुपरेको जनश्रमदानमा सहभागीले बताएका छन् । ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा रहेको दिक्तेल–मानेभञ्ज्याङ सडकमा वर्षेनी यात्रा गर्ने यात्रुले हिलो र धुलोको सामना गर्दै आउनुपरेको छ ।
दिक्तेल–साप्सुखोला करिब दश किलोमिटर सडकलाई असार अगावै नगरपालिकाको तर्फबाट मर्मत गरेर नियमित यातायात सञ्चालन हुने वातावरण तयार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले प्रतिवद्धता जनाउनुभएको छ । “हामीसँग भएको श्रोत र साधनलाई प्रयोग गरेर असार मसान्तभित्रै यो सडकमा सञ्चालन हुने वातावरण तयार गर्नेछौँ । तपाईहरु ढुक्क हुनुहोस्”, सडक निरीक्षण तथा श्रमदान अवलोकन गर्न लफ्याङ पुग्नुभएका उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा पर्ने सडकलाई हामीले नै निर्माण गर्छौँ । तर, सीमित श्रोत र साधनको कारण पछि परेको छ । यस वर्ष ढुक्कका साथ सहज यात्रा गर्ने वातावरण तयार गर्छौँ ।”
वर्षादको समयमा हिलो र हिउँदमा धुलोको समस्या झेल्दै आएका साकेलाबासी र अन्य नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वतः स्फुर्त जनश्रमदानमा आएको सहभागीले बताएका छन् । श्रमदानमा सहभागी स्थानीय गोपिकृष्ण खड्काले यस सडकलाई नगरपालिका आफैले चासो दिएर निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
दिक्तेलस्थित अस्पतालचोक–लफ्याङको दुबेचिवा (तीन किलोमिटर) र दुबेचिवा–साप्सुखोला (चार किलोमिटर)सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदै सडक विभागले योजना कटौती गरेको छ । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेकाले सडक विभागले करिब ७० प्रतिशत काम सकिएपछि योजना नै कटाएको हो ।
ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित रु पाँच करोड छ लाख ५५ हजार ५८६ मा अस्पतालचोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको थियो । सो निर्माण कम्पनीले वि.सं. २०७९ पुस– २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखढुङ्गासँग वि.सं. २०७८ जेठ–२० गते ठेक्का सम्झौता गरेको थियो ।