समाजसेवी सैँजूले दिए आफू पढेको विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री

Halesi Khabar
301 Shares

खोटाङ, १३ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थायी घर भइ राजधानी काठमाडौँ बस्दै आउनुभएका समाजसेवी गोपाल सैँजूले आफू पढेको विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा खेल सामग्री उपलब्ध गराउनुभएको छ । काठमाडौँ बसेर विभिन्न पेशा तथा व्यवसाय गर्दै आउनुभएका समाजसेवी सैँजूले जन्मदिनको अवसर पारेर बिहीबार दिक्तेलस्थित पोखरीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्री उपलब्ध गराउनुभएको हो ।

समाजसेवी सैँजूले ६० जना विद्यार्थीका लागि एक÷एक जोर ट्र्याकसुट, चार थान भलिबल, एक थान जाली र एक थान फुटबल उपलब्ध गराउनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभयो । ट्र्याकसुट तथा खेल सामग्रीय हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यसहित विद्यार्थीमा हौसला प्रदान गर्न विद्यार्थीलाई ट्र्याकसुट र खेल सामग्रीय उपलब्ध गराएको समाजसेवी सैँजूले जानकारी दिनुभयो । “यो विद्यालयबाट मैले कखरा सिकेको हुँ । आफू पढेको विद्यालयको अवस्था हेर्दा नाजुक देखियो”, उहाँले भन्नुभयो, “विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित विद्यार्थीलाई हौसला प्रदान गर्न ट्र्याकसुट र खेल सामग्रीय उपलब्ध गराएको हुँ । यसले अन्यलाई पनि सहयोग गर्न प्रेरित गरेको छ ।”

ट्र्याकसुट तथा खेल सामग्री उपलब्ध गराउनुहुने समाजसेवी सैँजूलाई विद्यालय व्यवस्थापन समितिले सम्मानसमेत गरेको छ । कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा हाल ७३ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय परिवारले जनाएको छ ।

वि.सं. २०३३ माघ–१५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा कसैले चासो नदिएको विद्यालय परिवारको गुनासो छ ।

तपाईको प्रतिक्रिया