खोटाङ, १५ असार । दश स्थानीय तह रहेको खोटाङमा असार–१४ गतेसम्ममा १३ दशमलव ४० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । मध्य बर्खा अर्थात धान खेती गर्ने मुख्य सिजन (समय)मा समेत जिल्लाका लेकाली क्षेत्र तथा पानीको पहुँच पुगेका ठाउँहरुमा मात्र रोपाइँ शुरु भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईका अनुसार असार–१४ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ तथा हलेसी तुवाचुङ नगरपालिकामा १४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै, जन्तेढुङ्गा गाउँपालिकामा एक दशमलव ०३७, बराहपोखरी गाउँपालिकामा दुई, खोटेहाङ गाउँपालिकामा १५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १५, साकेला गाउँपालिकामा २० तथा रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा दश÷दश प्रतिशत रोपाइँ सकिएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका अधिकांश भू–भागमा वर्षे पानीको भरमा रोपाइँ गर्ने गरिएकामा यस वर्ष प्रयाप्त वर्षा नभएका कारण रोपाइँमा ढिलाइ भएको कृषकहरुले बताएका छन् ।
गत वर्ष धान खेती हुने कुल क्षेत्रफलमध्ये ९४ प्रतिशत अर्थात नौँ हजार ४१७ दशमलव ००७ प्रतिशत खेतमा रोपाइँ भएको थियो । जसबाट २१ हजार ९४ दशमलव ०९ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा बास्मती, अट्टेमार्सी, चम्पासरी, भोटाङ्गे, तौली, ताइचिन, मनकामना, मन्सुली, राधा, मकनापुर–१, हिमाली लगायत विभिन्न प्रजातिका धान खेती हुँदै आएको छ । जिल्लामा उत्पादित धानमध्ये सबैभन्दा बढी बास्मती र भोटाङ्गे उपभोक्ताको रोजाइमा पर्ने गरेको कृषकहरुले बताउने गरेका छन् ।
यसैबीच, कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार २१ औँ राष्ट्रिय धान दिवस तथा रापाइँ महोत्सव मनाउने तयारी गरेको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित झिसेपुको एक्लेपिपलमा दिवस मनाउने तयारी गरिएको आयोजकले जनाएको छ । धान दिवस तथा रोपाइँ महोत्सवमा जिल्लास्थित सबै विषयगत कार्यालय, सङ्घ संस्था, कृषक तथा कृषि समूह सहभागी हुने जनाइएको छ ।