खोटाङ, १६ असार । आफै कार्यरत विद्यालयकी १३ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका एक शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयको कक्षा–७ मा अध्ययनरत छात्रालाई पटक–पटक बलात्कारगरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका सोही विद्यालयमा कार्यरत ५८ वर्षीय शिक्षकविरुद्ध आइतबार मुद्धा दर्ता भएको हो ।
बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको जानकारीको आधारमा शिक्षकलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । “आफ्नै शिक्षकले बलात्कार गरेपछि बालिकाको गर्भमा बच्चा बसेको रहेछ । बच्चा हुर्कदै गएपछि आफन्तले सोधीखोजी गर्दा आफ्नै विद्यालयमा कार्यरत शिक्षकले पटक–पटक बलात्कार गरेको बताएकी रहिछन्”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि पक्राउ गरिइएका शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरिएको छ । मुद्धा दर्ता गरेलगत्तै आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।”
मावली घर बसेर कक्षा–७ मा अध्ययतरत बालिकालाई गत पुसदेखि लगातार बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा शिक्षकलाई पक्राउ गरिएलगत्तै गर्भवती बालिकालाई समेत शनिबार नै उद्धार गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
उपचारका लागि मावली घरबाट उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि अस्पतालले आइतबार रिफर गरेको जनाइएको छ । कम उमेरमा गर्भवती भएकी बालिकाको पेटमा पाँच महिनाको बच्चा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
गर्भवती बालिकालाई अस्पतालले रिफर गरेपछि आफन्तको जिम्मा लगाएर थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । बालिकालाई सोमबार (भोलि) थप उपचारका लागि राजधानी काठमाडौँ लैजाने तयारी गरिएको आफन्तले बताएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका बुबा सम्पर्कविहीन भएपछि आमासँगै मावली घर आएर बसेकी बालिकालाई शिक्षकले ललाइफकाइ पटक–पटक बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्धामा दशदेखि १४ वर्ष उमेर समूहका बालिका बलात्कार गर्ने पीडकलाई २० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।