भारतीय सेनाका नायक नवराज राई ‘पल्टने’को उपन्यास ‘परिबन्धन’ बजारमा आउँदै

Halesi Khabar
539 Shares

खोटाङ, १७ असार । भारतीय सेनाका नायक नवराज राई ‘पल्टने’को उपन्यास ‘परिबन्धन’ यही असार–२२ गते दिक्तेलमा लोकापर्ण गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा जन्मिएर भारतीय सेनाका नायक पदमा कार्यरत सर्जक नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले लोकापर्ण गर्ने तयारी गरेको हो ।

परदेशी (लाहुरे)को प्रेम कहानी (लभ स्टोरी)मा आधारित २६४ पृष्ठ लामो उपन्यास परिबन्धनको सम्पादन दिनेश पौडेलले गर्नुभएको छ । सर्जक नवराज राई ‘पल्टने’को श्रीमती मौसमी राईले प्रकाशनमा ल्याउनुभएको उपन्यास परिबन्धनमा प्रविन र अनु राईलाई प्रमुख पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

दिक्तेलस्थित शुभम् फाउण्डेशनमा आयोजना गरिने सर्जक नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन लाकोपर्ण तथा सिर्जना वाचनका बारेमा प्रतिष्ठानले सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पूरा भएको जानकारी दिएको छ । जिल्लास्थित साहित्यिक सर्जकहरुले सिर्जना वाचन गर्नेसँगै लोकापर्ण गरिने उपन्यास परिबन्धनका बारेमा साहित्यकारहरु एमसी सुमित, बेदीकुमार राई र हेमबिक्रम राईले समीक्षा गर्नुहुने प्रतिष्ठानले जानकारी दिएको छ ।

सोल्माका एउटा सामान्य परिवारमा जन्मनुभएका सजर्क नवराज राई ‘पल्टने’ले पहिलो प्रयासमै उपन्यास प्रकाशन गर्नु आफैमा गौरवको विषय भएको पत्रकार सम्मेलनमा सहभागी प्रगतिशील लेखक सङ्घ खोटाङका अध्यक्ष चित्र सुवेदीले बताउनुभयो । सानो उमेर र जोखिमपूर्ण जिम्मेवारी रहँदा पनि यति राम्रो उपन्यास लेख्न सक्नु आफैमा गौरवको विषय भएको अध्यक्ष सुवेदीको प्रतिक्रिया छ ।

सर्जकको सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन लोकापर्ण गर्ने जिम्मेवारी आफूहरुले लिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई ‘एक्ले’ले जानकारी दिनुभएको छ । “भारतीय सेनाजस्तो व्यस्त जागिरे व्यक्तिले उपन्यासजस्तो साहित्य सिर्जना गर्नु आफैमा ठूलो कुरा हो । सर्जकको सम्मान तथा नवप्रतिभालाई हौसला प्रदान गर्नु प्रतिष्ठानको मुख्य दायित्व हो”, उहाँले भन्नुभयो, “नवराज भाइले हिम्मत गर्नुभएको छ ! उहाँको सम्मान तथा हौसलाका लागि उहाँको कृति लोकापर्णको बन्दोबस्त मिलाइएको हो ।”

पत्रकार सम्मेलनमा सहभागी सर्जक नवराज राई ‘पल्टने’ले सबैको साथ, सहयोग र हौसलाका कारण पहिलो कृतिको रुपमा उपन्यास ‘परिबन्धन’ प्रकाशन सफल भएको बताउनुभएको छ । “यो मेरो पहिलो प्रयास हो । लेखन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “आफ्नो देशका लागि केही दिन सकेको छैन । परदेशबाटै भएपनि साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्ने प्रयास निरन्तर जारी रहनेछ ।”

दिक्तेलस्थित सोल्मा निवासी आमा प्रेमकुमारी र बुबा आइतबहादुर भनिने धुस्मन राईका जेठा छोरा नवराज राई ‘पल्टने’ दश वर्षअघि भारतीय सेनामा भर्ना हुनुभएको थियो । एलएलसी उत्तिर्ण गरेलगत्तै भारतीय सेनामा भर्ना हुनुभएका नवराज राई ‘पल्टने’ सोल्माको एउटा सामान्य परिवारमा वि.सं. २०५३ असार–२३ गते जन्मुभएको हो ।

भारतीय सेनामा भर्ना भएपछि कक्षा–१२ सम्मको औपचारिक शिक्षा लिनुभएका सर्जक नवराज राई ‘पल्टने’को श्रीमतीसहित दुई छोरी छन् । गाउँमा जन्मिएका एउटा युवा (नवराज राई)ले सानै उमेरमा साहित्य सिर्जना गरेर आफ्नो र गाउँको नाम उचो बनाएको पत्रकार सम्मेलनमा सहभागी सोल्माका वुद्धिजीविहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया