खोटाङ, १८ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि मङ्गलबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जन्मिएदेखि १५ महिनासम्मका दुई हजार ८८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका छ हजार ४२२ गरी सबै अर्थात नौँ हजार ३०३ जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिनुभयो । “पूर्ण खोप अभियानका क्रममा जिल्लाका दुई जना बालबालिकाले अहिलेसम्म कुनै पनि खोप नलगाएको तथा १५ जना बालबालिकाले नियमित खोपको मात्रा छुटाएको पाइएको थियो । उनीहरुसहित नौँ हजार ३०३ जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाइएको छ”, उहाँले भन्नुभयो, “खोपले जीवन र पैसा दुवै बचाउँछ । त्यसैले आगामी दिनमा पनि सबै बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ । सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।”
जिल्लाका सबै बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालय प्रमुख चौलागाईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गर्नुभएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्नेमा चौथो बनेको छ ।
आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने÷गराउने, खोप कार्यक्रममा कसैलाई पनि नछुटाउने तथा छुट्न नदिने र नेपाल सरकारको खोप सम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयक्त हस्ताक्षरसमेत गरिएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्था लगायतलाई सम्मानसमेत गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणासभाका वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हल दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको उपस्थिति रहेको थियो ।
वि.सं. २०७४ पुस–१४ गते खोटाङ जिल्लालाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपाल सरकारले जन्मेदेखि पाँच वर्ष उमेर समूहका हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारले सञ्चालन गरेको नियमित खोप कार्यक्रम अन्तरगत सबै बालबालिकाले सबै प्रकारका खोप पाएको निश्चित भएपछि सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।