खोटाङ, १८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा यही असार–२० गतेदेखि असार–२५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले जानकारी दिनुभएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि विभिन्न जिल्लाबाट आउने खेलाडीलाई गाडी भाडा र खाना तथा बस्नको व्यवस्था गरिएको जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको मङ्गलबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री झिकाउने तयारी गरिएको आयोजकले जनाएको छ । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिक’ले गर्नुहुने आयोजकले जनाएको छ ।
असार–२० गते बिहान ७ ः०० बजेदेखि शुरु हुने प्रतियोगिताको पहिलो खेल सोलुखुम्बु र ओखलढुङ्गाबीच हुने जनाइएको छ । प्रतियोगिताको दोस्रो खेल सोही दिन मध्यान्ह १२ ः ०० देखि धनकुटा र ताप्लेजुङबीच हुने आयोजकले जनाएको छ ।