खोटाङ, १९ असार । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको सडक ढलानको काम सम्पन्न गरिएको छ । कोशी प्रदेश अन्तरगत शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाख बजेटमा चिसापानीस्थित मुख्य बजारको १०० मिटर सडक ढलानको काम सम्पन्न गरिएको हो ।
बि एण्ड बि निर्माण सेवा कम्पनीले ठेक्का लिएको सडक ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । निर्माण सेवा कम्पनीले वि.सं. २०८१ असार–१५ गतेभित्र सक्ने गरी वि.सं. २०८० चैत–२५ गते सडक ढलानको सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले ठेक्का लिएको चिसापानी बजारस्थित ढल निर्माणको काम पनि सम्पन्न भएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । शहरी विकास तथा भवन कार्यालयको रु पाँच लाख बजेटमा वि.सं. २०८१ असार–१० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले वि.सं. २०८० चैत–२५ गते नै संझौता गरेको थियो ।
उता, सोही गाउँपालिकाको वडा नं. ५ चिसापानी र वडा नं. ६ दिप्लुङको सीमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । जन्तेढुङ्गा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाल लगायत निर्माणका काम अलपत्र परेको हो ।
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब रु दुई करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी एनआरके–स्वामी नारायण, मोहन एण्ड बेँसी गाउँ जेभीले वि.सं. २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताउनुभएको छ ।
पेश्की बापतको रु ४६ लाख निर्माण सम्वद्ध कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभयो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आर्थिक वर्ष २०८०÷८१ मा भने रु ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो ।
आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले बताउनुभएको छ ।
जन्तेढुङ्गा उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात मानिन्छ । किम्बदन्ती अनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो ।
ऐतिहासिकस्थल जन्तेढुङ्गामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुङ्गामा पर्व विशेष मेला बाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुङ्गाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापरबाही भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । जन्तेढुङ्गाको स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीहरुले बताएका छन् ।