खोटाङ, १९ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरधुरी तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालय खोटाङले मातहतका प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका घरधुरी तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको हो ।
प्रहरीले गरेको सर्वेक्षण अनुसार दश स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ घरधुरीको ३२० र पहिरोबाट ४३९ घरधुरीको एक हजार ७६१ जना मानिस उच्च जोखिममा रहेका छन् । मनसुन शुरु भएसँगै मातहतका प्रहरी परिचालन गरेर उच्चा जोखिममा रहेका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी तथा डुवानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ । ऐसेखुखर्क गाउँपालिकाको वडा नं. १ राखाबाङ्देल र वडा नं. ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र वडा नं. ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ७ महादेवस्थान र वडा नं. ९ सल्ले तथा केपिलासगढी गाउँपालिकाको वडा नं. ४ बाक्सिला र वडा नं. ७ सुङ्देल बाढी तथा डुवानको उच्च जोखिममा रहेका छन् ।
पहिरोको उच्च जोखिममा जिल्लाका दशवटै स्थानीय तहका अधिकांश वडाहरु रहेको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ११ खार्मी र वडा नं. १५ विजयखर्क, ऐसेलुखर्क गाउँपालिकाको वडा नं. ५ जलेश्वरी, केपिलासगढी गाउँपालिकाको वडा नं. ५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाको सबै वडा, बराहपोखरी गाउँपालिकाको वडा नं. २ सुन्तले, वडा नं. ३ साउनेचउर र ४ फाक्टाङ, खोटेहाङ गाउँपालिकाको वडा नं. ६ इन्द्रेणीपोखरी र वडा नं. ७ खोटाङबजार बाहेक सबै वडा पहिरोको उच्च जोखिममा रहेका छन् ।
यस्तै, रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र वडा नं. ३ लामीडाँडा, वडा नं. ६ हौँचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिका को वडा नं. १ याम्खा, वडा नं. ५ सप्तेश्वर छितापोखरी र वडा नं. ६ छितापोखरी रहेका छन् । साकेला गाउँपालिकाको वडा नं. १ बाँझेच्यानडाँडा, वडा नं. २ रतन्छा, वडा नं. ३ खिदिमा, वडा नं. ४ मात्तिमको आहाले र वडा नं. ५ कात्तिके पहिरोको उच्चा जोखिममा रहेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. १ बाहुनीडाँडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नं. ७ महादेवस्थानको महादेवबेँसी र गैरीगुठ, वडा नं. वडा नं. ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नं. ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नं. १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा रहेका छन् ।
बाढी तथा पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँहरुको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ । विपद् आइपरेको खण्डमा उनीहरुलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनहरुमा छ हजार ८५५ जनालाई राख्न सकिने ठाउँ रहेको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई न्यूनिकरण गर्न २४ घण्टे आपतकालीन सेवासमेत शुरु गरेको जनाएको छ । मनसुन शुरु भएसँगै जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हडलाइन सेवा सञ्चालन गरेर २४ घण्टे आपतकालीन सेवा शुरु गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
यसैबीच, जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसमेत तयारी अवस्थामा रहेको समितिका संयोजक एवम् प्मुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभएको छ । जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।
उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई समेत आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् आइपरेको खण्डमा जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लास्थित स्थानीय तहहरुसँगै सहकार्य गरेर उद्धार तथा राहत वितरणको काम गर्नेसमेत निर्णय गरिएको समितिका संयोजक एवम् प्रजिअ कार्कीले जानकारी दिनुभएको छ ।