डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटियो

Halesi Khabar
252 Shares

खोटाङ, २० असार । श्री हनुमान आधुनिक खाने तेल उद्योग छत्तरपिपरा बारामा उत्पादित डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित एक होलसेल पसलबाट खरिद गरिएको डबल त्रिशूल नामक तोरीको तेलमा लेदो भेटिएको हो ।

तरकारी पकाउन प्रयोग गर्ने क्रममा कराई (तरकारी पकाउन प्रयोग गरिने भाँडो)मा हालिएको तेल तातिदै गएपछि बिस्तारै लेदो बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटि अध्यक्ष गोपाल आचार्यले बताउनुभयो । “‘स्वास्थ्य शक्ति स्वादिष्ट भोजन र अचारका लागि’ भनेर लेखिएको तेलको प्याकेट नौँ महिनासम्म प्रयोग गर्न सकिने उल्लेख छ । तर, गत वैशाखमा उत्पादन गरिएको भनिएको तोरीको तेलमा फोहरको लेदो भेटिनुमा उत्पादक कम्पनीको ठूलो लापरबाही देखियो”, उहाँले भन्नुभयो, “एउटा प्याकेटमा मात्र त्यस्तो होला भनेर अर्को खोलेर हेर्दासमेत त्यस्तै भेटियो । यस विषयमा कम्पनीका मालिकसँग फोन सम्पर्क ग¥यौँ । उहाँले चासो दिनुभएन । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ । उपभोक्ताको स्वास्थ्यप्रति कसैले पनि खेलबाड गर्न मिल्दैन ।”

छिमेकी जिल्ला उदयपुरको गाईघाट तथा कटारी हुँदै ट्रकमार्फत खोटाङको दिक्तेल बजार ल्याएर बिक्री गरिएको उक्त कम्पनीको तोरीको तेलमा लेदो भेटिएको गुनासो आएपछि पत्रकारहरुको उपस्थितिमा परीक्षण गर्दासमेत त्यस्तै भेटिएको छ । दिक्तेलस्थित अस्पताल चोकमा सञ्चालित प्रज्वोल स्टोरबाट रु १०५ मा खरिद गरेर पुनः परीक्षण गर्दासमेत उक्त तेल तातिदै गएपछि विस्तारै लेदो बनेको पाइएको हो ।

ब्याच नं., प्याकेजिङ डेट (पोका पारिएको मिति) र मूल्य खाली राखिएको डबल त्रिशूल तोरीको तेलको मूल्य रु ११० उल्लेख छ । ब्याच नं., प्याकेजिङ डेट र मूल्य तेल बिक्री गर्ने समयमा अर्को छाप बनाएर छेउपट्टी हानेको पाइएको छ ।

प्याकेटमा उल्लेख भएको मूल्यभन्दा रु पाँच कम गरेर बिक्रेताले उपभोक्तालाई बिक्री गर्नुमा नै उत्पादक कम्पनीको गडबडी देखिएको आचार्यले दाबी गर्नुभएको छ । “प्याकेजिङ गर्दा बिक्रीदर रु ११० उल्लेख छ । त्यसमा ढुवानी मूल्य कम्पनी आफैले व्यहो¥यो होला ! तर, नाफा नराखी कसैले पनि बिक्री गर्दैन”, उहाँले भन्नुभयो, “यसमा उत्पादक कम्पनी र स्थानीय बिक्रेताको मिलेमतो देखिन्छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

डबल त्रिशूल नामक खाने तेलमा लेदो भेटिएपछि कम्पनीका सञ्चालक विनोद अग्रवाललाई फोन गर्दा त्यस्तो नहुनुपर्ने प्रतिक्रिया दिनुभएको छ । “हाम्रो कम्पनीबाट उत्पादित डबल त्रिशूल नामको तोरीको तेल रिफाइन होइन । मेसिनमा प्रशोधन गरेर निकालेपछि सिधै प्याकेटिङ गरिएको हुन्छ”, उहाँले भन्नुभयो, “तताउनेक्रममा रङ परिवर्तन हुन्छ । तर, लेदो बस्दैन । के भएको रहेछ म आफै पनि परीक्षण गरेर हेर्छु ।”

दिक्तेल बजारका विभिन्न पसलमार्फत बिक्री गरिएका उक्त कम्पनीको तेलको अन्य प्याकेटमा समेत लेदो भेटिएको उपभोक्ताहरुले बताएका छन् । नाफा कमाउने बहानामा प्रशोधित तेल उत्पादक कम्पनीले आफूहरुको स्वास्थ्यमा ठूलो खेलबाड गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।

भान्छामा प्रयोग गरिने खाने खोटाङको दिक्तेल बजारमा धारा रु १५०, सेलो रु ११५–१२०, सन फ्लावर रु १०५ देखि ११० सम्ममा खरिद तथा बिक्री हुँदै आएको छ । दश स्थानीय तह रहेको खोटाङमा वार्षिक रु डेढ अर्बको खाने तेल खपत हुने गरेको उद्योग वाणिज्य सङको तथ्याङ्कमा उल्लेख छ ।

तराईका जिल्लाहरुबाट ल्याइएका खानेसँगै अन्य दैनिक उपभोग्यवस्तुहरु गुणस्तरहीन भएको यसअघि पनि भेटिएको थियो । ड्यूमा पेट्रोल मिसिएको, डाइजेस्टिभ नामको बिस्क्युटको पानामा प्लाष्टिक बेरिएको तथा उपयोग गर्ने समयावधि हुँदाहुँदै पनि गृहिनी नामको चामलको बोरामा कुहिएको चामल भेटिएको थियो ।

यतिका मात्रामा दैनिक उपभोग्यवस्तु बिक्री÷वितरणमा लापरबाही भएको भेटिए पनि अहिलेसम्म सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याएका छैनन् । प्रहरी प्रशासन कै अगाडि बजारमा छ्यापछ्याप्ती अखाद्यवस्तु बिक्री÷वितरण भइरहेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकार्षण भएको जनाए पनि नियमन निकाय मौन बस्ने गरेको छ ।

यतिसम्म कि जिल्लाका ग्रामीण भेगहरुमा बिक्रीका लागि राखिएका बिस्क्युट, चाउचाउ, चिजबल लगायतका जङफुडमा चिल्सा (एक प्रकारको कीरा) परेको बिक्री÷वितरण भइरहेको पाइने गरेको छ । प्याकेजिङ गरेको यति महिना वा दिनसम्ममात्र प्रयोग गर्न उपयुक्त हुन्छ भनेर लेखिएको भए पनि उक्त मिति बिक्रेता तथा क्रेता कसैले ध्यान दिदैनन् ।

तपाईको प्रतिक्रिया