खोटाङ, २१ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो दिन आज (शुक्रबार) चार खेल हुँदै छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन आज समूह चरणको दुई तथा प्रिक्वाटर फाइनलको दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा शुरु भएको प्रतियोगिताको समूह चरणका खेलअन्तरगत पाँचथर र मोरङबीचको पहिलो खेलमा मोरङ एक शून्य गोल अन्तरले विजयी भएको छ । अहिले तेह्रथुम र सङ्खुवासभाबीच प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ ।
प्रिक्वाटर फाइनल अन्तरगतको खेलमा ईलाम र ओखलढुङ्गा तथा धनकुटा र खोटाङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो दिन अर्थात हिजो बिहीबार भएको समूह चरणको खेलमा ओखलढुङ्गा, ताप्लेजुङ, ईलाम र खोटाङ विजयी भएका थिए ।
पहिलो दिनको पहिलो खेलमा सोलुखुम्बुलाई शून्यका विरुद्ध एक गोलले हराउँदै ओखलढुङ्गाले विजयी यात्रा शुरु गरेको छ । खेलको पहिलो हाफको पाँचौँ मिनेटमा ओखलढुङ्गाकी सम्झना राईले गर्नुभएको एकमात्र गोल नै निर्णायक भएको आयोजकले जनाएको छ । खेल अवधिभरका म्यान अफ दि म्याच ओखलढुङ्गाकी सम्झना राई घोषित हुनुभएको छ ।
इलाम र उदयपुरबीच भएको पहिलो दिनको दोस्रो खेलमा ट्राईब्रेकरमार्फत ईलाम विजयी भएको छ । पहिलो हाफको ३२ औँ मिनेटमा ईलामकी मनिता तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएको खेलमा दोस्रो हाफको तीन मिनेटमै उदयपुरकी अनिशा राईले गोल फर्काएपछि बराबरी भएको थियो ।
निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्रईब्रेकरमा इलामले दुई गोल गर्दा उदयपुरका खेलाडीले कुनै पनि गोल गर्न नसकेको आयोजकले जनाएको छ ।
पाँच÷पाँच जना खेलाडीले प्रहार गरेको ट्राईब्रेकरमा उदयपुरका खेलाडीका सबै गोल ईलामकी गोलरक्षक समिक्षा राईले रोकेपछि ईलाम समूह चरणको खेलमा विजयी भएको आयोजकले जनाएको छ । ईलाम र उदयपुरबीचको खेलमा ईलामकी गोलरक्षक समिक्षा राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।
धनकुटा र ताप्लेजुङबीच भएको तेस्रो खेलमा ताप्लेजुङ विजयी भएको छ । पहिलो हाफमा दुवैतर्फ कुनै पनि गोल नभएको खेलको दोस्रो हाफको आठौँ मिनेटमा ताप्लेजुङकी सुजता लिम्बुले गरेको एकमात्र गोल नै निर्णायक बनेको हो ।
खेल अवधिभरको म्यान अफ दि म्याच ताप्लेजुङकी सुजता लिम्बु घोषित हुनुभएको छ । म्यान अफ दि म्याच घोषित सुजताले नगद रु दुई हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
पहिलो दिनको अन्तिम अर्थात चौथो खेलमा खोटाङ ट्राईब्रेकरमार्फत विजयी भएको छ । सुनसरी र खोटाङबीच भएको खेलको निर्धारित समयमा दुवैतर्फका एक÷एक गोलको बराबरी भएपछि ट्राईब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफमा खोटाङकी सजना राई गोल गर्दै टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सुनसरीकी योगिता निरौला एक गोल फर्कापछि बराबरी भएको थियो । पाँच÷पाँच जना खेलाडीले प्रहार गरेको ट्राईब्रेकरमा खोटाङ ४–३ गोल अन्तरले विजयी भएको हो ।
खेल अवधिभरको म्यान अफ दि म्याच खोटाङकी सजना राई घोषित हुनुभएको छ । यही असार–२५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि (शुक्रबार) पनि चारवटा खेल हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग सञ्चालन भएको प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ ।
प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको जनाइएको छ । प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् ।
सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी भएका छन् ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिक’ले गर्नुभएको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको आयोजकले जनाएको छ ।