प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने बनाउँछु : मुख्यमन्त्री कार्की

Halesi Khabar
14 Shares

विराटनगर, २१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तीन वर्षभित्रमा प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने खालको बनाउने बताउनुभएको छ । उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार विराटनगरमा सम्पन्न महिला उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आगामी तीन वर्षभित्र जनताले अनुभूति गर्ने खालको प्रदेश संरचना बनाउने बताउनुभएको हो ।

“प्रदेश संरचना चाहिन्छ की चाहिदैन भनेर अहिले कतै सोध्यो वा बोल्यो भने ८० देखि ९० प्रतिशत जनताले चाँहिदैन भनेर हात उठाउँछन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारका पनि केहि कमजोरीहरु छन् । त्यसलाई सच्याएर अबको दुईदेखि तीन वर्षभित्रमा प्रदेश संरचना चाहिन्छ भन्ने बनाउनु मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारी सबैको दायित्व र चुनौति हो ।”

विभिन्न व्यक्तिले अहिले पनि संविधान संसोधन गर्नुपर्छ र प्रदेश हटाउनुपर्छ भनिरहेको बताउनुहुँदै उहाँले अबका केहि वर्षपछि प्रदेश सरकार चाहिन्छ कि चाँहिदैन भनेर सोध्दा केन्द्र र स्थानीय जान्दैनौ प्रदेश चाहिन्छ भन्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अहिले स्थानीय तहले पनि प्रदेश चाहिन्छ भनिहाल्दैन । सङ्घले पनि चाहिन्छ भनिहाल्दैन । संविधान कानून अनुसार यसो बोली मिलाउने मात्रै हो”, उहाँले भन्नुभयो, “तर म दाबाका साथ भन्न सक्छु । प्रदेश सरकारले जतिको भौतिक संरचनाको विकास न त स्थानीय तहले गरेको छ । न त सङ्घीय सरकारले नै ।”

मुख्यमन्त्री कार्कीले प्रदेशमा सञ्चालित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न कानून तर्जुमा तथा नीतिगत व्यवस्था गर्नुका साथै सरकारकातर्फबाट आवश्यक बजेटको समेत व्यवस्था गरी यी क्षेत्रहरुलाई अगाडि बढाउने बताउनुभएको छ । स्थानीय कृषि उत्पादनमा आधारित लघु उद्योगहरुलाई प्रवद्र्धन गर्दै विश्वबजारीकरण गर्ने र यसको माध्यमबाट रोजगार सिर्जना गर्नुकासाथै विदेशी मुद्रा आर्जन गर्दै आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले आगामी आर्थिक वर्षदेखि महिला उद्यमीहरुका लागि प्रविधि हस्तान्तरण कार्यक्रम राखिएको जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालयको मार्फतबाट महिलाहरुलाई प्रविधि हस्तान्तरणमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशमा रहेर उद्यम र उद्यमशिलताको क्षेत्रमा निरन्तर रुपमा योगदान गर्ने १४ जना महिला उद्यमीलाई सम्मान गरिएको छ । १४ वटै जिल्लाबाट छनोट गरिएका उद्यमीलाई प्रदेश सरकारले प्रदान गर्ने प्रदेश उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार २०८० बाट पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा सोलुखुम्बुकी पासाङ ल्हामु तामाङ, मोरङकी स्वरसोती सुब्बा, सुनसरीकी निर्मला खतिवडा, उदयपुरकी हेमकुमारी सार्की, संखुवासभाकी मनकला राई, तेह्रथुमकी विमला केरुङ, ओखलढुङ्गाकी रामकुमारी बस्नेत र भोजपुरकी निर्मला श्रेष्ठ रहनुभएको छ । यस्तै, पाँचथरकी लक्की सुजी, ताप्लुजुङकी सानुमाया लिम्बु, धनकुटाकी डोरश्वरी राई, खोटाङकी उषा खत्री, इलामकी रमिला राई र झापाकी भूमिकादेवी दाहाललाई पुरस्कृत गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया