खोटाङ, २२ असार । भारतीय सेनाका नायक नवराज राई ‘पल्टने’को उपन्यास ‘परिबन्धन’ लोकार्पण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा जन्मिएर भारतीय सेनाका नायक पदमा कार्यरत सर्जक नवराजको उपन्यास ‘परिबन्धन’ टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङको आयोजनामा लोकार्पण गरिएको हो ।
सर्जकको सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले सर्जक नवराज राई ‘पल्टने’को उपन्यास परिबन्धन लोकार्पण गर्ने जिम्मेवारी आफूहरुले लिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई ‘एक्ले’ले बताउनुभयो । “भारतीय सेनाजस्तो व्यस्त जागिरे जीवन बिताइरहेका व्यक्तिले उपन्यासजस्तो साहित्य सिर्जना गर्नु आफैमा ठूलो कुरा हो । सर्जकको सम्मान तथा नवप्रतिभालाई हौसला प्रदान गर्नु प्रतिष्ठानको दायित्वभित्र पर्छ”, उहाँले भन्नुभयो, “नवराज भाइले हिम्मत गर्नुभएको छ ! उहाँको सम्मान तथा हौसलाका लागि उहाँको कृति लोकार्पणको बन्दोबस्त हामीले मिलाएका हौँ ।”
परदेशी (लाहुरे)को प्रेम कहानी (लभ स्टोरी)मा आधारित २६४ पृष्ठ लामो उपन्यास परिबन्धनको सम्पादन दिनेश पौडेलले गर्नुभएको छ । सर्जक नवराजको श्रीमती मौसमी राईले प्रकाशनमा ल्याउनुभएको उपन्यास परिबन्धनमा प्रविन र अनु राईलाई प्रमुख पात्रका रुपमा प्रस्तुत गरिएको छ ।
दिक्तेलस्थित शुभम् फाउण्डेशनमा शनिबार आयोजना गरिएको कार्यक्रममा उपन्यास लाकोपर्णसँगै साहित्य सिर्जनासमेत वाचन गरिएको थियो । सम्पादक समाज खोटाङका अध्यक्ष वरिष्ठ पत्रकार कृष्ण आचार्यले औपचारिक रुपमा लोकार्पण गर्नुभएको उपन्यासका बारेमा साहित्यकार एमसी सुमित र हेमबिक्रम राईले टिप्पनी गर्नुभएको छ ।
सोल्माका एउटा सामान्य परिवारमा जन्मनुभएका सजर्क नवराज राई ‘पल्टने’ले पहिलो प्रयासमै उपन्यास प्रकाशन गर्नु आफैमा गौरवको विषय भएको टिप्पनीकार एमसी सुमितले प्रतिक्रिया दिनुभएको छ । “सानो उमेर र जोखिमपूर्ण जिम्मेवारीमा रहँदा पनि उपन्यासजस्तो कृति प्रकाशनमा ल्याउन सक्नु आफैमा गौरवको विषय हो । सर्जक नवराज राई ‘पल्टने’ले साहित्यिक दुनियाँमा एउटा इँटा थप्नुभएको छ”, उहाँले भन्नुभयो, “यो उपन्यास श्रृङगारिक कृति हो । यसलाई निरन्तरता दिन सर्जक भाइ नवराजमाथि ठूलो जिम्मेवारी थपिएको छ । आगामी दिनमा अझ निखारपनसहित थप कृतिहरु प्रकाशनमा ल्याउनुहोस् । शुभकमना छ !”
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सर्जक नवराज राई ‘पल्टने’ले सबैको साथ, सहयोग र हौसलाका कारण पहिलो कृतिको रुपमा उपन्यास ‘परिबन्धन’ प्रकाशन गर्न सफल भएको बताउनुभएको छ । “यो मेरो पहिलो प्रयास हो । लेखन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा छु”, उहाँले भन्नुभयो, “परदेशमा बसेर आफ्नो देशका लागि केही दिन सकेको छैन । परदेशबाटै भएपनि साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्ने मेरो प्रयास आगामी दिनमा पनि जारी रहनेछ ।”
दिक्तेलस्थित सोल्मा निवासी आमा प्रेमकुमारी र बुबा आइतबहादुर भनिने धुस्मन राईका जेठा छोरा नवराज राई ‘पल्टने’ दश वर्षअघि भारतीय सेनामा भर्ना हुनुभएको थियो । एलएलसी उत्तिर्ण गरेलगत्तै भारतीय सेनामा भर्ना हुनुभएका नवराज राई ‘पल्टने’ सोल्माको एउटा सामान्य परिवारमा वि.सं. २०५३ असार–२३ गते जन्मुभएको हो ।
भारतीय सेनामा भर्ना भएपछि कक्षा–१२ सम्मको औपचारिक शिक्षा लिनुभएका सर्जक नवराज राई ‘पल्टने’को श्रीमतीसहित दुई छोरी छन् । गाउँमा जन्मिएका एउटा युवा (नवराज राई)ले सानै उमेरमा साहित्य सिर्जना गरेर आफ्नो र गाउँको नाम उँचो बनाएको कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।
राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त साहित्य सर्जकहरुले सिर्जना वाचन गरेको कार्यक्रममा सर्जकका आमा प्रेमकुमारी र श्रीमती मौसमी राईसहित जनप्रतिनिधि, पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई उपहारस्वरुप एक÷एक प्रति उपन्यास उपलब्ध गराइएको थियो ।
पहिलो पटक प्रकाशित कृति परिबन्धन दिक्तेल बजारसहित विभिन्न शहरमा सञ्चालित पुस्तक पसलहरुमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । लोकार्पणसँगै बजारमा ल्याइएको उपन्यास परिबन्धनको मूल्य रु ३९९ राखिएको छ ।