कोशी प्रदेशस्तरीय महिला फुटबल : अविरल वर्षा र कुहिरोले खेल प्रभावित

Halesi Khabar
189 Shares

खोटाङ, २२ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत आज (शनिबार)को खेल प्रभावित भएको हो ।

खेल तालिकाअनुसार शनिबार दिउँसो १ः०० बजेका लागि तय गरिएको समूह चरणअन्तरगत भोजपुर र मोरङबीचको पहिलो खेल वर्षा भइरहेकै समयमा साँझ सम्पन्न गरिएको छ । दिउँसो करिब ४ः०० बजेबाट शुरु गरिएको प्रतियोगितामा निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि ट्राइब्रेकरमार्फत मोरङ विजयी भएको छ ।

दिउँसो ३ः०० बजेका लागि तय गरिएको झापा र तेह्रथुमबीचको दोस्रो खेल साँझ ६ः०० बजेबाट शुरु गरिएको थियो । निर्धारित समय सकिन १८ मिनेट बाँकी हुँदा भारी वर्षा र बाक्लो कुहिरो लागेपछि खेल स्थगित गरिएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकै समयमा सञ्चालन गरिएको प्रतियोगितामा झापा दुई गोलले अगाडि रहेको थियो । अविरल वर्षाका कारण स्थगित भएको बाँकी समयको खेल भोलि (आइतबार) बिहान ७ः०० बजेबाट सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ओखलढुङ्गा र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार आयोजना गरिएको क्वाटर फाइनलको खेलमा ओखलढुङ्गाले ईलामलाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको शुक्रबार नै सम्पन्न समूह चरणको खेलमा मोरङले पाचथरलाई शून्यका विरुद्ध एक तथा तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले नै पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । असार–२० गतेबाट शुरु गरिएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी भएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैंयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । असार–२५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न ४२ लाख रुपैंयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ ।

प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई समेत आर्थिक सहयोग माग गरिएको आयोजकले जनाएको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएको जिल्लामा पहिलो पटक प्रदेश खेलकुद विकास बोर्डको लगानीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले बजेट सक्नका लागि बेमौसममा प्रतियोगिता आयोजना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया