कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र भोजपुर फाइनल प्रवेश

Halesi Khabar
294 Shares

खोटाङ, २३ असार : खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा र भोजपुर फाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज (आइतबार) सम्पन्न सेमिफाइनल खेलमा झापाले ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुरले ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

झापाको जितका लागि जर्सी नं. ८ की खेलाडी जेनीफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभएको छ । पहिलो हाफको १४, १६, २७ र २९ औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा एक्लैले छ गोल गर्न सफल जेनीफर प्रतियोगिताको म्यान अफ दि म्याचसमेत घोषित हुनुभएको छ ।

म्यान अफ दि म्याच घोषित जेनीफरले नगद रु दुई हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । झापा आइतबार नै भएको क्वाटरफाइनल खेलमा तेह्रथुमलाई शून्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं. ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं. १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ । भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको म्यान अफ दि म्याच भने भोजपुरकी जर्सी नं. १४ की खेलाडी आरती भुजेल घोषित हुनुभएको छ ।

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल यही असार–२५ गते दिउँसो १ः०० बजेबाट शुरु हुने जनाइएको छ । यही असार–२० गतेबाट शुरु गरिएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका महिला खेलाडी सहभागी भएका थिए ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद रु दुई लाख र उपविजेताले नगद रु एक लालसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको विद्यागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार तथा वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही नगद रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् । सबै प्रतियोगिता महिला रेफ्रीले गराउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन असार–२० गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले बजेट सक्नका लागि बेमौसममा प्रतियोगिता आयोजना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया