खोटाङ, २५ असार । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज (मङ्गलबार) दिउँसो २ः०० बजेबाट सञ्चालन हुने फाइनल खेलमा उपाधिका लागि झापा र भोजपुरबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि विजेताले नगद रु दुई लाख तथा उपविजेताले नगद रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको विद्यागततर्फ वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार तथा वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही नगद रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सेमिफाइनल खेलमा झापाले ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुरले ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनल पुगेका दुवै जिल्लाले उपाधि जित्ने दावी गरेका छन् ।
झापाको जितका लागि जर्सी नं. ८ की खेलाडी जेनीफर रानामगर एक्लैले छ गोल गर्न सफल हुनुभएको थियो । पहिलो हाफको १४, १६, २७ र २९ औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा एक्लैले छ गोल गर्न सफल जेनीफर प्रतियोगिताको म्यान अफ दि म्याचसमेत घोषित हुनुभएको छ ।
यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं. ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं. १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ । भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको म्यान अफ दि म्याच भने भोजपुरकी जर्सी नं. १४ की खेलाडी आरती भुजेल घोषित हुनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय प्रतियोगितामा १४ वटै जिल्लाका महिला खेलाडी सहभागी भएका थिए । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सबै खेल महिला रेफ्रीले गराउनेगरी खोटाङका महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्री सहभागी छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन असार–२० गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले बजेट सक्नका लागि बेमौसममा प्रतियोगिता आयोजना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ ।