झापाले जित्यो कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि

Halesi Khabar
0 Shares

खोटाङ, २५ असार । खोटाङको बुइपामा आयोजित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज (मङ्गलबार) साँझ सम्पन्न फाइनल खेलमा भोजपुरलाई शून्यका विरुद्ध एक गोल गर्दै झापाले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता झापाले नगद रु दुई लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित भोजपुरले नगद रु एक लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गरेको आयोजकले जनाएको छ ।

उपाधिका लागि झापाका जर्सी नं. ८ की खेलाडी जेनीफर रानामगरले पहिलो हाफको १५ औँ मिनेटमा गर्नुभएको एक गोल नै निर्णायक बनेको आयोजकले जनाएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी प्रतियोगितामा वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोरर जेनीफर हुनुभएको छ ।

प्रतियोगिता अवधिभरमा जेनीफरले सर्वाधिक नौँ गोल गर्न सफल हुनुभएको आयोजकले जनाएको छ । एउटै प्रतियोगितामा दुईवटा विद्याका पुरस्कार विजेता जेनीफरले सेमिफाइनल खेलमा ताप्लेजुङ विरुद्ध छ गोल गर्नुभएको थियो ।

वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररको उपाधि प्राप्त गर्नुभएकी जेनीफरले नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उपाधि विजेता जिल्ला तथा खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ‘परशुराम’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतले नगद तथा पुरस्कार वितरण गर्नुभएको हो ।

प्रतियोगिताको अन्य विद्यागत पुरस्कार अन्तरगत वेष्ट गोल रक्षकमा झापाकी जसोदा राई, वेष्ट डिफेण्डर भोजपुरकी कमला श्रेष्ठ, वेष्ट मिडफिल्डर झापाकी सिम्रन राई, वेष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदयमान खेलाडी खोटाङकी रिया राई घोषित भएका छन् । विद्यागत पुरस्कार विजेतालाई जनही नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सबै खेल खोटाङका पहिलो महिला रेफ्री शशि राईसहित १५ जना महिला रेफ्रीले सम्पन्न गराएका हुन् ।

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न गर्न करिब रु ४२ लाख लागत लागेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ले बताउनुभएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार–२० गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले गर्नुभएको थियो ।

चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय बासिन्दा उत्साहित बनेका छन् । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको थियो ।

प्रतियोगिता शुरु भएकै दिनदेखि लगातार वर्षा भएपछि हिलाम्मे खेलमैदानमै सबै खेल सञ्चालन गरिएको थियो । प्रदेश खेलकुद विकास बोर्डले बजेट सक्नका लागि बेमौसममा प्रतियोगिता आयोजना गरेको भन्दै आलोचनासमेत भएको छ ।

 

तपाईको प्रतिक्रिया