मनसुनजन्य विपद्का घटना प्रतिकार्यका लागि सहायता कक्ष स्थापना

Halesi Khabar
21 Shares

खोटाङ, २६ असार । मनसुनजन्य विपद्का घटना न्यूनीकरण एवम् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । मनसुनजन्य विपद्को समयमा हुनसक्ने घटनाका पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा विपद् सहायता कक्ष स्थापना गरिएको हो ।

मनसुनजन्य विपद्मा परेको उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्ने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभएको छ । “विपद् प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ । यो समितिले विपद्मा परेको उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्छ”, उहाँले भन्नुभयो, “जिल्लामा हुन सक्ने मनसुनजन्य विपद्का घटनालाई प्रतिकार्यका लागि सबैसँग हातेमालो गर्छौँ । यसका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्ने निर्णय भएको छ ।”

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय विपद् सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ । मनसुनको समय भएकाले विपद् प्रतिकार्य, राहत वितरण र उद्धारका लागि जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सम्बन्धित निकायहरु, सरोकारवाला सबै पक्षलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको संयोजक कार्कीले जानकारी दिनुभएको छ ।

यस्तै, मुख्य राजमार्गहरु बाढीपहिरोको कारण अवरुद्ध हुन सक्ने हुँदा सम्बन्धित सडक आयोजनाहरुलाई सडक अवरुद्ध हुनासाथ तत्काल सञ्चालनमा ल्याउन तथा स्थानीय सडकहरु सञ्चालन हुने अवस्थामा राख्न सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ । जिल्लामा हुन सक्ने मनसुनजन्य सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, स्थानीय तहका अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई विपद्जन्य उपचारको लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको संयोजक कार्कीले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ घरधुरीको ३२० र पहिरोबाट ४३९ घरधुरीको एक हजार ७६१ जना मानिस) उच्च जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले गरेको सर्वेक्षण अनुसार मनसुनजन्य विपद्का घटना आइपरेको खण्डमा उनीहरुलाई तत्काल उद्धार गरेर राख्न सकिने सुरक्षित ठाउँहरुसमेत पहिचान गरिएको छ ।

विपद् आइपरेको खण्डमा जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनहरुमा छ हजार ८५५ जनालाई राख्न सकिने ठाउँ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरषोत्तम खड्काले जानकारी दिनुभएको छ । केही दिनदेखि लगातार भारी वर्षा भएपनि जिल्लामा अहिलेसम्म ठूलो घटना भएको छैन ।

यही असार–२० गतेदेखिको अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडकहरू अवरुद्ध बनेका छन् । अविरल परिरहेको वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध बनेको हो ।

ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट बिच्छेद भएका छन् । स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची अवस्थामा रहेकाले समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् ।

यसबाहेक सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाइघाट सडक पनि अवरुद्ध छ । यसले जिल्लाबाट तराई जान र तराईबाट जिल्ला आउन समस्या भएको छ ।

जिल्लाका केही ठाउँहरूमा पहिरो तथा रुखले ग्रामीण सडकहरू अवरुद्ध गरे पनि स्थानीय र प्रहरीले खुुलाएको प्रहरीले जनाएको छ । यद्यपि, यातायातका सवारी साधन भने सञ्चालनमा आएको छैन ।

राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने निरन्तर सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा झरेको पहिरोले केही समय अवरुद्ध भएपनि अहिलेसम्म पूर्णरुपमा अवरुद्ध नभएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया