खोटाङ, २६ असार । डेङ्गु रोग फैलिन नदिन तथा रोकथाम गर्नका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोज तथा नष्ट गर’ अभियान शुरु गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङको सहकार्यमा बुधबारदेखि ‘लामखुट्टेको लार्भा खोज तथा नष्ट गर’ अभियान शुरु गरिएको हो ।
अभियानको पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडादेखि रत्नपार्क हुँदै वडा नं. २ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनसम्मको क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने काम गरिएको छ । अभियानका क्रममा टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टिन, टनेल लगायतका वस्तुहरूमा जमेको पानी जमिनमा घोप्टाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
जिल्लावासी नागरिकलाई आफ्नो घर वरिपरि रहेका खाल्डाखुल्डीमा जमेका पानी हटाउन तथा नियमित सरसफाइ गर्नका लागि सचेतसमेत गराइएको छ । अभियानकै क्रममा डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी उपायको बारेमा पनि जानकारी दिइएको कार्यालय प्रमुख चौलागाई बताउनुभयो ।
डेङ्गु रोगको लक्षण, त्यसको असर र बच्न सकिने उपायका बारेमा जानकारी दिन आयोजित ¥यालीसँगै जोखिमयुक्त ठाउँहरुमा विषादिसमेत छर्किने कामसमेत गरिएको छ । सचेतनामूलक ¥यालीमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।