खोटाङ, ३१ असार । त्रिधार्मिकस्थल हलेसीमा पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको सङ्गमस्थल हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समन्वय, सहजीकरण, सुरक्षा लगायतका सहयोग गर्न पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएको हो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा प्रदेश प्रहरीबाट तालिम लिएर दक्ष जनशक्तिसहित पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । पर्यटक सहायता प्रहरी डेस्कमा प्रहरी नायब निरीक्षकको कमाण्ड (नेतृत्व)मा तीनजना प्रहरी खटाइएको जनाइएको छ ।
पर्यटक सहायता प्रहरी डेस्कमा खटिएका पर्यटक प्रहरीले पर्यटकीयस्थलहरूमा गस्ती तथा पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकीयस्थलमा पर्यटकहरूको सुरक्षा गर्ने, समस्यामा परेका पर्यटकलाई सहयोग गर्ने लगायतका क्रियाकलाप गर्नेछन् । पर्यटकहरूबाट आएका उजुरी, निवेदन छानविन तथा कारबाही गर्ने, बिना इजाजतका गाइड गर्नेहरूलाई कारबाही गर्ने लगायतका काम गर्न पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएको हो ।
त्यस्तै, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दुतावासहरूसँग सम्पर्क गरेर स्थानीय प्रहरीमार्फत आवश्यक कारबाही गर्ने, होटल तथा ट्राभल, टे«किङ र ¥याफ्टिङ एजेन्सीहरूको निरीक्षण, समझदारी, अध्ययन गरी प्रतिवेदन तयार गर्ने, पर्यटकीय क्षेत्रमा कुनै अभद्र व्यवहार, अश्लिल तथा अवान्छित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित ठाउँमा पठाउने जनाइएको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने हलेसीमा पर्यटक सहायता प्रहरी डेस्क स्थापना गरिएसँगै शान्ति÷सुरक्षाथ थप मजबुद भएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।
पर्यटक सहायता प्रहरी डेस्कको औपचारिक उद्घाटन आइतबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले गर्नुभएको थियो । उद्घाटन नगर उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा हरेक वर्षको साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । दैनिक हजारौँको सङ्ख्यामा भक्तजन, दर्शनार्थी तथा पर्यटकको सहभागी हुने मेलालाई व्यवस्थित गर्नसमेत पर्यटक सहायता प्रहरी डेस्कले सहयोग गर्ने प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
बोलबममा विशेषगरी भारतीय नागरिक हलेसी आउने गरेको हलेसी विकास समितिले जनाएको छ । मेलालाई व्यवस्थित गर्न नगरपालिकाको तर्फबाट समेत स्वयम्सेवक परिचालन गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन् ।
राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएकाले हलेसी आउने दर्शनार्थी तथा भक्तजन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । हलेसीमा लाग्ने मेलाहरुमा अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सदरमुकाम दिक्तेलबाट सुरक्षाकर्मीको टोलीसमेत परिचालन गर्ने गरिएको छ ।
धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्धारहरू अवस्थित रहेका छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।