शहीद कार्की दम्पत्तिको २३ औँ स्मृति दिवस : विभिन्न कार्यक्रमगरी मनाइयो

Halesi Khabar
42 Shares

खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइएको छ । ‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङको आयोजनामा सोमबार दिक्तेलमा विभिन्न कार्यक्रम गर्दै शहीद कार्की दम्पत्तिको २३ औँ स्मृति दिवस मनाइएको हो ।

स्मृति दिवसको अवसरमा शहीद कार्की दम्पत्तिको तस्वीरमा माल्यार्यणसहित श्रद्धाञ्जलि अर्पण गर्दै जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको छ । शहीद दिलकाजीको दाजु रामकाजी र भतिज ध्रुवकुमार कार्कीको समेत उपस्थितिमा आयोजित २३ औँ स्मृति दिवसमा नेकपा (माओवदी केन्द्र) खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, माओवादी केन्द्रका भातृ सङ्घ÷सङ्गठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा आयोजित २३ औँ स्मृतिसभाका वक्ताहरुले शहीद दिलकाजी कार्की खोटाङको जनयुद्धको अभिभावक भएको स्मरण गर्दै प्रशंसा व्यक्त गरेका छन् । उनीहरुले शहीदहरुको त्याग र बलिदानीलाई हरेक व्यक्तिले सँधै आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शहीद कार्की दम्पत्तिको सम्मानमा हरेक वर्षको साउन–३१ गते विविध कार्यक्रमको आयोजना गरेर उहाँहरुको सम्मानस्वरुप स्मृति दिवस मनाउने गरिएको प्रष्ठिानका महासचिव कृष्ण घिमिरेले जानकारी दिनुभयो । यस वर्ष देशभर परिरहेको अविरल वर्षाका कारण शहीद कार्की दम्पत्तिको २३ औँ स्मृति दिवसलाई व्यापक बनाउन नसकिएको आयोजकले जनाएको छ ।

शहीद कार्की दम्पत्तिको वि.सं. २०५९ असार–३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले गोली हानी हत्या गरेको थियो । घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन नेकपा माओवादी नेता कार्यकर्ताका अनुसार तत्कालीन शाही नेपाली सेनाले खोटाङको सिम्पानीबाट दिलकाजीलाई गिरफ्तारगरी टुवाखोलमा लगेर गोली हानी हत्या गरेको हो ।

दिलकाजीसँगै गिरफ्तारमा पर्नुभएकी उहाँकी श्रीमती इन्दिराको समेत सोही ठाउँमा सेनाले गोली हानी हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताउँदै आएका छन् । जनयुद्धमा लागेकै कारण सेनाको गोली लागेर शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजी कार्कीलाई खोटाङको जनयुद्धको अभिभावक मान्ने गरिएको छ ।

जनयुद्धमा शहादत प्राप्त शहीद दिलकाजी कार्की र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ स्थापना गरिएको छ । वि.सं. २०७५ सालमा स्थापना गरिएको प्रतिष्ठानले दश वर्षे माओवादी जनयुद्धका क्रममा शहादत प्राप्त सबै शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

जनयुद्धमा शहादत प्राप्त खोटाङका ७२ जना शहीदहरुको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क (उद्यान) निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन शहीद पार्कमा खोटाङका सबै (७२ जना) शहीदहरुको अर्धकदको शालिक राख्ने तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेशकुमार राईले जानकारी दिनुभएको छ ।

दिक्तेलस्थित भवनगैरामा प्रतिष्ठानको आफ्नै भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । नेकपा (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय रहेको स्थानमा निर्माण गरिएको प्रतिष्ठानको भवनमा प्रदेश तथा सङ्घीय सरकारको लगानी परेको छ ।

तपाईको प्रतिक्रिया