खोटाङको एउटै पालिकामा ७४ मेट्रिकटन लिची उत्पादन

Halesi Khabar
105 Shares

खोटाङ, ४ साउन । यस वर्ष खोटाङमा १६८ मेट्रिकटन लिची उत्पादन भएको जनाइएको छ । गत वर्ष १५३ मेट्रिकटन लिची उत्पादन भएको जिल्लामा यस वर्ष बढेर १६८ मेट्रिकटन पुगेको पाइएको हो ।

दश स्थानीय तह रहेको जिल्लाको ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यवसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिकटन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिकटन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिकटन लिची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौँ मेट्रिकटन, बाराहापोखरीमा ० दशमलव ५० मेट्रिकटन, खोटेहाङमा ३६ मेट्रिकटन, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५० मेट्रिकटन, साकेलामा छ मेट्रिकटन, केपिलासगढीमा ० दशमलव ५० मेट्रिकटन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिकटन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

जिल्लामा उत्पादित लिचीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवम् उद्यमी रामबहादुर राईले बताउनुभएको छ । “जिल्लामा उत्पादित लिची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुस लगायतका पेय पदार्थ बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।”

जिल्लामा उत्पादित लिची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँ लगायतका शहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिची बिक्रीबाट कृषकले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लिचीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासीन देखिएको किसानको गुनासो छ । आफूहरुले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानहरुको माग छ ।

लिची उत्पादनबाट राम्रो आम्दानी हुनेभएपछि स्थानीय सरकारले लिचीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एक पटक रोपिएका बिरुवाले लामो समयसम्म उत्पादन दिइरहने भएपछि जिल्लाका अन्य कृषकहरुसमेत लिचीको व्यवसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया