खोटाङमा ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सकियो

Halesi Khabar
0 Shares

खोटाङ, ४ साउन । खोटाङमा ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको जिल्लामा साउन–४ गतेसम्मको तथ्याङ्क अनुसार ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी बराहपोखरी गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको पाइएको छ भने, सबैभन्दा कम हलेसी तुवाचुङ नगरपालिकामा ३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश धान खेतमा आकाशे पानीको भरमा रोपाइँ गरिँदै आइएकामा अझै प्रयाप्त पानी नपरेकाले रोपाइँ ढिलाइ भएको कृषकहरुले बताएका छन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८३, जन्तेढुङ्गा गाउँपालिकामा ६३, खोटेहाङ गाउँपालिकामा ७२ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा र ऐसेलुखर्क गाउँपालिकामा ७५÷७५ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ७०, रावाबेँसी गाउँपालिकामा ६५ र साकेला गाउँपालिकामा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षहरुको तुलनमा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । “खोटाङमा भदौ पहिलो हप्तासम्म रोपाइँ गर्ने गरेका छन् । यस वर्ष करिब २४ प्रतिशत खेतमा मात्र रोपाइँ गर्न बाँकी रहेको तथ्याङ्कले देखाएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका अधिकांश भू–भागमा वर्षे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ । यस वर्ष समयमै प्रयाप्त वर्षा भएका कारण रोपाइँ छिटो भएको हो । यसले धान उत्पादनसमेत वृद्धि हुने अनुमान गरिएको छ ।”

गत वर्ष जिल्लाका खेतीयोग्य जमिनमध्ये धान खेती हुने कुल क्षेत्रफलको ९४ प्रतिशत अर्थात नौँ हजार ४१७ दशमलव ००७ प्रतिशत खेतमा रोपाइँ भएको थियो । जसबाट २१ हजार ९४ दशमलव ०९ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ ।

जिल्लामा बास्मती, अट्टेमार्सी, चम्पासरी, भोटाङ्गे, तौली, ताइचिन, मनकामना, मन्सुली, राधा, मकनापुर–१, हिमाली लगायत विभिन्न प्रजातिका धान खेती हुँदै आएको छ । जिल्लामा उत्पादित धानमध्ये सबैभन्दा बढी बास्मती र भोटाङ्गे उपभोक्ताको रोजाइमा पर्ने गरेको कृषकहरुले बताउने गरेका छन् ।

जिल्लामा उत्पादित धानको चामल स्थानीय हाटबजार तथा राजधानी काठमाडौँ लगायत विभिन्न शहरमा निर्यात हुने गरेको कृषकहरुले बताएका छन् । जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले पनि कृषकले उत्पादन गरेक हरेक कृषि उपज राजधानी काठमाडौँ लगायतका शहरमा निर्यात गर्न सहज भएको छ ।

जिल्लामा उत्पादित हरेक कृषि उपज अर्गानिक हुने भएकाले शहर बजारमा सहजै बिक्री गर्न सकिने व्यवसायीहरुले बताएका छन् । जिल्लामा उत्पादित कृषि उपजलाई अर्गानिक बनाउन स्थानीय तहहरुले समेत पहल थालेका छन् ।

तपाईको प्रतिक्रिया