खोटाङ प्रहरीद्धारा वर्ष दिनमा १२४ जना फरार प्रतिवादी पक्राउ

Halesi Khabar
126 Shares

खोटाङ, ५ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले वर्ष दिनको अवधिमा १२४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । वि.सं. २०८० साउन–१ गतेदेखि वि.सं. २०८१ असार–३१ गतेसम्मा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका फरार प्रतिवादीलाई पक्राउगरी उनीहरुबाट ११३ वर्ष ११ महिना सात दिन कैद, रु आठ लाख २३ हजार ४६१ जरिवाना तथा रु दुई लाख ३२ हजार ७८६ क्षतिपूर्ति असुल गरेको हो ।

पक्राउ परेकामध्य महिना दिनदेखि १४ वर्षसम्म कैद भुक्तान गर्न बाँकी प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “गत वर्ष अदालतले २१२ जना फरार प्रतिवादीको सूची उपलब्ध गराएको थियो । त्यसमध्ये १२४ जना पक्राउ गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “अदालतले उपलब्ध गराएको विवरण अनुसार ८८ जना फरार रहेको देखिन्छ । यसमा कतिपयको मृत्यु भइसकेको छ भने, कतिपयले पुनरावेदन गरिरहेका छन् । केही व्यक्तिमात्र फरार रहेको देखिन्छ । उनीहरुको पनि खोजी भइरहेको छ ।”

फरार प्रतिवादी पक्राउ पर्नेमा सबैभन्दा बढी जघन्य प्रकृतिका मुद्धामा अदालतबाट दोषी ठहर भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७८÷७९ मा तीन तथा आर्थिक वर्ष २०७९÷८० मा छजना फरार प्रतिवादी पक्राउ परेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङमा वर्ष दिनको अवधिमा २१५ वटा घटना दर्ता भएको पाइएको छ । वि.सं. २०८० साउन–१ गतेदेखि २०८१ असार–३१ गतेसम्मको विवरण अनुसार सबैभन्दा बढी झुण्डी आत्महत्याका ३८ वटा घटना दर्ता भएको देखिएको छ ।

यद्यपि, गत वर्षहरुको तुलनामा यस वर्ष आत्महत्या गर्नेको सङ्ख्या कम भएको देखिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ६२ तथा आर्थिक वर्ष २०७९÷८० मा ५२ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा जबरजस्ती करणीका घटना दर्तामा वृद्धि भएको देखिएको छ । वि.सं. २०८० साउन–१ गतेदेखि २०८१ असार–३१ गतेसम्म २७ वटा जबरजस्ती करणीका घटना दर्ता भएको पाइएको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा १३ तथा आर्थिक वर्ष २०७९÷८० मा १५ वटा घटना दर्ता भएको थियो । पछिल्लो एक वर्षको अवधिमा जबरजस्ती करणीका घटना झण्डै दोब्बर वृद्धि हुनुमा मिश्रित प्रतिक्रिया छ ।

सामाजिक सञ्जालको दूरुपयोग, पारिवारिक बेवास्ता तथा लागूऔषध प्रयोगका कारण जिल्लामा जबरजस्ती करणीका घटना वृद्धि भएको महिला अधिकारकर्मीहरुले बताएका छन् । जिल्लामा हुनसक्ने जबरजस्ती करणीका घटना न्यूनिकरण गर्नका लागि महिला आफै सचेत हुनुपर्ने महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङका अध्यक्ष पूर्णमायाँ तामाङले बताउनुभएको छ ।

जिल्लामा जबरजस्ती करणीका घटना वृद्धि नभइ पीडितहरुको न्यायमा पहुँच विस्तार भएको प्रनाउ खड्काले प्रतिक्रिया दिनुभयो । “यसअघि जबरजस्ती करणीजस्ता जघन्य किसिमका घटना पनि गाउँमै मिलापत्र गराउने गरिएको रहेछ । हामीले गाउँ–गाउँमा सचेतना अभियानहरु चलायौँ”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा गइयो भने, पीडकलाई कानूनी कारबाही हुने रहेछ भन्ने विश्वास पीडितहरुमा बढेको छ । त्यसैको आधारमा यस वर्ष जबरजस्ती करणीका घटना दर्तामा वृद्धि भएको हो ।”

प्रहरीमा दर्ता भएका २७ वटा जबरजस्ती करणीका घटनामध्ये २४ वटा घटनामा संलग्नलाई प्रक्राउगरी कानूनी दायरमा ल्याउन सफल भएको प्रहरीले जनाएको छ । तीनवटा घटना प्रक्रियामा रहेको र चाँडै आरोपितलाई पक्राउ गरिने जनाइएको छ ।

यस्तै, जबरजस्ती करणी उद्योगमा यस वर्ष सातवटा घटना दर्ता भएको प्रहरीको तथ्याङ्कमा देखिएको छ । घटनामा संलग्न सबैजनालाई पक्राउगरी कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

बाल यौन दूरुपयोगमा यस वर्ष तीनवटा घटना दर्ता भएको जनाइएको छ । प्रहरीका अनुसार अघिल्लो दुई आर्थिक वर्षमा दुई÷दुईवटा घटना दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामै पहिलो पटक बैङ्किङ कसूर सम्बन्धी १७ वटा घटना दर्ता गरेर कारबाही गरेको छ । यस्तै, विभिन्न माध्यबाट ठगी गर्ने १५ जनाविरुद्ध मुद्धा दर्ता गरेर कारबाही गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान चार, कर्तव्य ज्यानसम्बन्धी लापरबाही एक, विष सेवन तीन, हाम फालेर आत्महत्या एक, बेवारिसे ज्यान एक, हातहतियार तथा खरखजना तीन, विद्युतीय अपराध तीन, ज्यान मार्ने उद्योगका आठवटा घटना दर्ता भएको छ । सरकारी दस्तखत किर्ते सात, लिखत सम्बन्धी किर्ते तीन, लागू औषध दुई, चोरी छ, पशुपन्छी सम्बन्धी कसूर दुई, अभद्र व्यवहार २१, सवारी ज्यान चार, परीक्षा मर्यादा भङ्ग दुई र आगजनीका एउटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया