सालपा विकास बैङ्कमा स्थापना भएको १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा

Halesi Khabar
77 Shares

खोटाङ, ७ साउन । सालपा विकास बैङ्कले १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा शुरु गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको बैङ्कले सोमबारदेखि मोबाइल बैङ्किङ सेवा शुरु गरेको हो ।

सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारीरुपमा सेवा प्रवाह गर्न मोबाइल बैङ्किङ सेवा सञ्चालनमा ल्याइएको बैङ्क सञ्चालक समितिका अध्यक्ष टङ्क राईले जानकारी दिनुभयो । “राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार खोटाङको कूल जनसङ्ख्या एक लाख ५७ हजार ३०४ जना छन् । हाम्रो जिल्लामा सालपा विकास बैङ्कसहित १२ वटा बैङ्क सञ्चालनमा छन्”, उहाँले भन्नुभयो, “बचत खाता खोल्नेको सङ्ख्या एक लाख ४७ हजार ७०३ जना छन् । जसमध्य हाम्रो बैङ्कमा खाता खोल्नेको सङ्ख्या ३६ हजार ६८१ जना रहेका छन् । उहाँहरुलाई छिटो, छरितो र प्रभावकारीरुपमा सेवा प्रवाह गर्न मोबाइल बैङ्किङ सेवा सञ्चालनमा ल्याइएको हो ।”

शेयर सदस्यहरुको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोडको पुँजी लगानीबाट शुरु गरिएको बैङ्कले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्धनका लागि सुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । ‘एक घर, एक खाता’ भन्ने परियोजनासमेत सञ्चालन गरिरहेको बैङ्कको कुल निक्षेप रु एक अर्ब चार करोड रहेको वितरण शाखाका प्रमुख वरिष्ठ अधिकृत दिवाकर राईले जानकारी दिनुभयो ।

‘जनता बैङ्कमा होइन, बैङ्क जनतासम्म जानुपर्छ’ भन्ने अवधारण लिएर सञ्चालन गरिएको सालपा विकास बैङ्कको कूल चुक्ता पुँजी रु ३५ करोड रहेको जनाइएको छ । निकट भविष्यमा आइपियो खुलाएर हालको चुक्ता पुँजीलाई रु ५२ करोड २३ लाख ८८ हजार पु¥याउने लक्ष्य राखिएको बङ्कले जनाएको छ ।

दिक्तेल बजारसँगै छ ठाउँमा शाखा रहेको बैङ्कले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका दश वटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौँ किसिमका कर्जा तथा सापट विप्रेषण लगायतका सेवा प्रवाह गर्दै आएको जनाएको छ । हलेसी, ऐसेलुखर्क, बाक्सिला, सिम्पानी र चिसापानीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको बैङ्कले बैङ्कले आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवासमेत प्रदान गर्दै आएको छ ।

‘तपाईको सजिलो वित्तीय साझेदार’ भन्ने नाराका साथ जिल्लाभर सेवा प्रवाह गरिरहेको बैङ्कले स्थानीय तहसँगको सहकार्यमा जिल्लास्थित पाँचवटै शाखामार्फत सामाजिक सुरक्षाभत्तासमेत वितरण गर्दै आएको छ । बैङ्कले सबै शाखामार्फत चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका दशवटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौँ किसिमका कर्जा तथा सापट विप्रेषण लगायतका सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रधान कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सालपा विकास बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त गरेको छ । स्थापना कालमा दश जिल्लाका १२० जना शेयर सदस्यबाट शुरु गरिएको बैङ्कमा हाल ६८ जिल्लाका तीन हजार ५०० शेयर सदस्य छन् ।

स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको बैङ्कको गत फागुन–२० गते सम्पन्न ११ औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेशनमा सम्पन्न ११ औँ साधारणसभाले उदयपुर, सुनसरी, झापा र मोरङमा शाखा स्थापना गरेर कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया