वन उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न फलफूल तथा जडीबुटीका बिरुवा

Halesi Khabar
182 Shares

खोटाङ, ९ साउन । डिभिजन वन कार्यालय खोटाङले आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार ८४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनहरुलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताहरुका लागि रोजगारी सिर्जना गर्न डिभिजन वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो ।

जिल्लाका दशवटै स्थानीय तहका स्थानीय बासिन्दालाई समेट्नेगरी विभिन्न शीर्षकमा कार्यक्रम बनाएर विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । “खोटाङ हावापानीको हिसाबले विविधतायुक्त जिल्लामा पर्दछ । जिल्लाको हावापानी अनुसार विभिन्न शीर्षकमा कार्यक्रम बनाएर निःशुल्क बिरुवा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “बिरुवा हुर्काउने र गोडमेल गर्ने तथा त्यसबाट लाभ लिने जिम्मा उपभोक्ताको हो । यसले जिल्लावासीका लागि आयआर्जनको माध्यम बन्ने अपेक्षा गरेका छौँ ।”

डिभिजन वन कार्यालयले जडीबुटी विकास कार्यक्रम, मानव–वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्यक्रम, बिरुवा उत्पादन तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, अर्गेली विस्तार कार्यक्रम, विद्यालय वातावरण सुधार कार्यक्रम लगायतका शीर्षकमा कार्यक्रम सञ्चालन गरेको थियो । जडीबुटी विकास कार्यक्रमका लागि रु १८ लाख, मानव–वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका लागि रु तीन लाख, विद्यालय वातावरण सुधारका लागि रु पाँच लाख, अर्गेली विस्तार कार्यक्रमका लागि रु पाँच लाख, कृषि वन कार्यक्रमका लागि रु पाँच लाख, कबुलियती वन कार्यक्रमका लागि रु पाँच लाख, डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि रु पाँच लाख तथा खयरका बिरुवा उत्पादनका लागि रु चार लाख बजेट विनियोजन भएको थियो ।

सामुदायिक तथा कबुलियती वन तथा स्थानीय बासिन्दाका लागि वितरण गर्न यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय खोटाङका योजना शाखा अधिकृत दीपेन्द्र मेहताले जानकारी दिनुभयो । कार्यालयले उत्पादन गरेको ६५ हजार बिरुवामध्य ३० हजार वितरण गर्न बाँकी रहेको जनाइएको छ ।

डिभिजन वन कार्यालय खोटाङमा उत्पादित बिरुवा अहिले पनि कार्यालयबाट धमाधम वितरण भइरहेको शाखा अधिकृत मेहताले जानकारी दिनुभयो । कार्यालयले धुपी, ज्याकाराण्डा, कल्फी, तेजपत्ता, सल्ला, अमला, इपिल–इपिल, किम्बु, नेभारा लगायतका बिरुवा उत्पादन गरेको छ ।

विद्यालय वातावरण सुधारका लागि जिल्लाभरीका दशवटा विद्यालयलाई ५०० बिरुवा वितरण गरिएको जनाइएको छ । धुपी, ज्याकाराण्डा, कल्फी लगायतका बिरुवा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

खयरका बिरुवा उत्पादन कार्यक्रम अन्तरगत ४० हजार बिरुवा उत्पादन गरेर हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक तथा कबुलियती वनलाई वितरण जनाइएको छ । जडीबुटीजन्य वनस्पतीमा पर्ने खयरका बिरुवा जिल्लामा पहिलो पटक परीक्षणका लागि उत्पादन गरिएको जनाइएको छ ।

मानव–वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्यक्रमका लागि ३५ हजार ६३० बिरुवा वितरण गरिएको मेहताले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तरगत सुन्तला, कागती, नास्पाती, जुनार, भूइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुर लगायतका फलफूल तथा जडीबुटीका बिरुवा वितरण गरिएको जनाइएको छ ।

अर्गेली व्यवस्थापन कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ७२ हजार ५०० बिरुवा वितरण जनाइएको छ । कृषि वन कार्यक्रम अन्तरगत जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा दाँते ओखरको बिरुवा, चिराइतोको बीउ, टिमुरको बिरुवा, बन्दा कोभीको बीउ वितरण एक हजार ८०४ तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला, कागती, नास्पाती, जुनार, भूइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुर लगायतका दुई हजार ४०० बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

जडीबुटी व्यवस्थापन कार्यक्रम अन्तरगत केपिलासगढी गाउँपालिका–१ फेदीमा लोठसल्ला, तेजपत्ता र टिमुरको बिरुवा तथा चिराइताको बीउ वितरण गरिएको छ । फेदीस्थित स्थानीय बासिन्दाको निजी जग्गामा रोप्नका लागि तीन हजार १०० तथा सामुदायिक वनमा रोप्नका लागि छ हजार ५०० वटा जडीबुटीको बिरुवा वितरण गरिएको जनाइएको छ ।

कबुलियती वनतर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा ३१ हजार २१ वटा बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । सुन्तला, कागती, नास्पाती, जुनार, भूइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुर, एभोकाडो लगायतका बिरुवा वितरण गरिएको शाखा अधिकृत मेहताले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयले फलफूल तथा जडीबुटीको बिरुवा वितरणका साथै रिचार्ज पोखरी निर्माण कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । पानीको मुहान संरक्षण गर्न डिभिजन वन कार्यालयले जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा जिल्लाका विभिन्न १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको कार्यक्रम सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया