निर्मलीडाँडाको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

Halesi Khabar
616 Shares

खोटाङ, ९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाका लागि शान्तिसुरक्षा कायम गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

अस्थायी प्रहरी चौकी निर्मलीडाँडामा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा छजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । “नागरिकलाई शान्तिसुरक्षा दिनु प्रहरीको कर्तव्य हो । स्थानीय नागरिकलाई शान्तिसुरक्षा दिन निर्मलीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “नागरिक बिना बर्दीका प्रहरी हुन् । उहाँहरुको सहयोग र समन्वयले मात्र समाजमा शान्तिसुरक्षा कायम गर्न सक्छौँ । अस्थायी प्रहरी चौकीमा खटिएका प्रहरीहरुले स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढ्छ ।”

निर्मलीडाँडास्थित पेलुङका स्थायी बासिन्दा अर्जुन कार्कीको घर वार्षिक रु ४० हजार भाडामा लिएर सञ्चालन गरिएको प्रहरी चौकीको घर भाडा वडा कार्यालय निर्मलीडाँडाले उपलब्ध गराउने सहमति भएको जनाइएको छ । अस्थायी प्रहरी चौकी स्थायी स्थायी नभएसम्म घर भाडा तथा अन्य बन्दोबस्तीको व्यवस्था सम्बन्धित वडा कार्यालयले गर्नुपर्ने दुई पक्षीय सहमतिपत्रमा उल्लेख छ ।

निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका नागरिकले शान्तिसुरक्षाको महसुस गर्नुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण हुने विश्वास गरिएको वडाध्यक्ष दिनेशकुमार कठेतले बताउनुभयो । “आफू जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुपूर्व निर्मलीडाँडामा प्रहरी चौकी स्थापना गर्ने जनताबीच गरेको प्रतिवद्धता पूरा भएको छ । ढिलै भएपनि यहाँका नागरिकलाई शान्तिसुरक्षाको महसुस गराउनका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण हुने विश्वास गरिएको छ”, उहाँले भन्नुभयो, “प्रहरी चौकी स्थापनाका लागि आवश्यक फर्निचर, भान्छामा प्रयोग हुने सामान, बिजुली, खानेपानी तथा इन्टरनेट सेवाका साथै घर भाडासमेत वडा कार्यालयले उपलब्ध गराएको छ । आगामी दिनमा पनि अस्थायी प्रहरी चौकीलाई आवश्यक पर्ने भौतिक तथा प्राविधिक सहयोग वडा कार्यालयबाट निरन्तर उपलब्ध गराइनेछ ।”

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–भाजपुर सडकखण्डको निर्मलीडाँडास्थित पेलुङमा स्थापना गरिएको प्रहरी चौकी आज (बुधबार) प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले रिबन काटेर उद्घाटन गर्नुभएको छ । प्रहरी चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रजिअ कार्कीले शान्तिसुरक्षा कायम राख्न स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापना गर्न निर्मलीडाँडा पुगेका सुरक्षा निकायका टोलीलाई स्थानीय बासिन्दाले साँकृतिक झाँकीसहित फूलमालाले स्वागत गरेका थिए ।

यसैबीच, निर्मलीडाँडामा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय दुईजना समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । भाडाको घर प्रयोग गरेर अस्थायीरुपमा सञ्चालन गरिएको प्रहरी चौकीका लागि पक्की भवन निर्माण गर्न स्थानीय केशरमान राई र अर्थमान राईले दुई÷दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको वडाध्यक्ष कठेतले जानकारी दिनुभयो ।

जग्गादाता राईद्धयलाई प्रहरी चौकी उद्घाटन कार्यक्रममा दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ । प्रहरी चौकीका लागि निःशुल्क प्राप्त जग्गामा पक्की भवन निर्माणका लागि यसै वर्षबाट पहल थालिने वडाध्यक्ष कठेतले बताउनुभएको छ ।

दश स्थानीय तह रहेको खोटाङमा निर्मलीडाँडासँगै २३ स्थानमा प्रहरी चौकी स्थापना गरेर सञ्चालन ल्याइएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, छवटा ईलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा कार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एकवटा पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया