खोटाङ, १० साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्न नगरपालिकाले बाँसजन्य वस्तु प्रवद्र्धनको काम शुरु गरेको हो ।
नगरपालिकामा बाँस प्रशस्त पाइने भएकाले विभिन्न प्रकारका सामग्री उत्पादन गरेर बाँसजन्य वस्तुको प्रवद्र्धनमा जोड दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “बाँसजन्य वस्तु प्रवद्र्धनका लागि नीतिगत योजनासमेत पारित गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित रु दश लाखबाट बाँसजन्य वस्तुको उत्पादन तथा प्रवद्र्धन शुरु गर्ने छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले बाँसको उपयोग गरेर स्तनपान कक्ष बनाएको छ । हाम्रो नगरपालिकामा ११ प्रजातिका बाँस पाइन्छ । यसबाट विभिन्न किसिमका घरायसी सामान तथा भवनसमेत बनाउन सकिन्छ । यसैको उदाहरण स्वरूप नगरपालिकाको प्राङ्गणमा स्तनपान कक्ष बनाएका छौँ ।”
बाँसबाट विभिन्न घरायसी सामग्री निर्माण, उत्पादन तथा प्रवद्र्धनका लागि नगरपालिकाको तर्फबाट तालिमसमेत दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । नगर मातहतका विभिन्न सरकारी तथा गैरसरकारी निकायका कार्यालयहरूमा समेत बाँसकै सामान उपयोग गरिने जनाइएको छ ।
स्थानीयस्तरमा खेर गइरहेका बाँस प्रयोग गरी घरायसी सामग्री उत्पादन गरेर प्रयोग गर्दा नगरको रकम बाहिर नजाने भएकाले अर्थतन्त्रमा सुधार र युवापुस्ताका लागि रोजगारीसमेत सिर्जना हुने नगरप्रमुख भट्टराईको विश्वास छ । स्थानीय बासिन्दाले उत्पादन गरेका बाँसका सामग्री बिक्रीका लागि नगरले बजार व्यवस्थापन गर्ने योजना बनाएको छ ।
बाँसजन्य वस्तुको प्रवद्र्धनका लागि दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने तयारी गरिएको जनाइएको छ । आगामी कातिक–२, ३ र ४ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्ने मितिसमेत निर्धारण गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।
तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाबाट रु पाँच लाख बजेटसमेत विनियोजन गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न देशका बाँससम्बन्धी विज्ञ, विश्वविद्यालय, व्यवसायीहरू, पर्यावरणकर्मी तथा बाँसका पारखीहरू सहभागी हुने जनाइएको छ ।
पन्ध्र वटा रहेको यस नगरपालिकाका नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईको कार्यकक्षमा बाँसकै कुर्सी, टेबल लगायत फर्निचरका सामग्री प्रयोग गरिएका छन् । नगरप्रमुख र उपप्रमुख बाँसकै कुर्सीमा बसेर काम गर्नुहुन्छ ।
आफूहरु निर्वाचित भएर जनप्रतिनिधिको रुपमा आउनासाथ स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने निर्वाचनपूर्व मतदातासँग गरिएका प्रतिबद्धताअनुसार बाँसका सामग्री उपयोग गर्न शुरु गरिएको उपप्रमुख राईले बताउनुभयो । नगरप्रमुख र उपप्रमुखले आयातित सुविधायुक्त कुर्सी, टेबल लगायतका सामग्री हटाएर बाँसका सामग्री उपयोग गर्न थालेपछि शुरुमा धेरैले खिल्ली उडाए पनि बिस्तारै मन पराउन थालेका छन् ।
देशमा सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडिबाटै दश स्थानीय तह रहेको जिल्लामा बाँसका सामग्रीहरु उत्पादन तथा बिक्री वितरण हुँदै आएको थियो । जिल्लामा बाँसबाट उत्पादित नाङ्लो, डालो, थुम्से, कोक्रो लगायतका घरायसी सामग्री जिल्ला बाहिरका शहरहरुमा समेत निर्यात हुँदै आएको व्यवसायीहरुले बताउने गरेका छन् ।
सङ्घीयता लागू भएपछि जिल्लाका सबै स्थानीय तहले घरेलु उत्पादनलाई प्रवद्र्धन गर्न नीति तथा कार्यक्रम बनाएर सहयोग उपलब्ध गराउँदै आएका छन् । निर्वाहमुखी व्यवसाय गर्दै आएका व्यवसायीहरुका लागि स्थानीय तहले आर्थिक, प्राविधिक तथा औजारसमेत उपलब्ध गराउन थालेपछि उनीहरु घरेलु सामग्री उत्पादनमा हौसिएका छन् ।