खोटाङ, १३ साउन । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाबाट साढे २२ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत साउन–१ गतेदेखि असार मसान्तसम्ममा आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवाबापत रु २२ करोड ६१ लाख ९८ हजार राजश्व सङ्कलन गरेको हो ।
कार्यालयले यस वर्ष समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बास्तोलाले जानकारी दिनुभयो । “कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु २१ करोड ३८ लाख २७ हजार राजश्व सङ्कलन गरेको थियो । यस वर्ष रु २२ करोड ६१ लाख ९८ हजार राजश्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “कार्यालयले यस वर्ष ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ । आगामी दिनमा सतप्रतिशत पूरा गर्ने लक्ष्य लिएका छौँ ।”
कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दै आएको छ । वि.सं. २०७५ सालमा स्थापना भएको करदाता सेवा कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखा सम्बन्धी काम गर्ने कर्मचारीहरुसँग कर शिक्षा सम्बन्धी अन्तरक्रिया गर्ने लगायतका क्रियाकलाप गर्दै आएको छ ।
आन्तरिक राजश्व कार्यालय लहानको सम्पर्क कार्यालयको रुपमा स्थापना गरिएको करदाता सेवा कार्यालय खोटाङले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका सङ्घ÷संस्था, व्यापार÷व्यवसाय लगायतको विवरण सङ्कलन गरेर करको दायरामा ल्याएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ११५ वटा पसल अनुगमन गर्दा मापदण्ड बिपरित सञ्चालनमा रहेका पसललाई कारबाहीगरी रु दुई लाख ४२ हजार राजश्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख बास्तोलाले जानकारी दिनुभयो ।
दिक्तेल बजारमा करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि मधेश प्रदेशमा पर्ने लहान पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । सिराहाको लहान पुगेर कर चुक्ता गर्दै आएका स्थानीय बासिन्दा आफ्नै जिल्लामा स्थापना भएको करदाता सेवा कार्यालयमा कर बुझाउन पाएपछि उत्साहित भएका छन् ।