‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ ताम्राकारलाई

Halesi Khabar
42 Shares

खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका–१ हाटडाँडाका सन्देश ताम्राकारलाई यस वर्षको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८१’ प्रदान गरिएको छ । सरकारी सेवासँगै सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदरस्वरुप ताम्राकारलाई नगद रु दश हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

शहीद जोशीको नाममा स्थापना गरिएको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ यस वर्ष निजामती सेवा (छैटौँ अधिकृत)बाट सेवा निबृत्त हुनुभएका ताम्राकारलाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । शहीद जोशीको ३३ औँ स्मृति दिवसको अवसरमा मङ्गलबार दिक्तेलको अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा ताम्राकारलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत ताम्राकार तत्कालीन जिल्ला विकास समितिको अस्थायी नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत रहेको अवस्थामा वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी हुनुभएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । वि.सं. २०५२ सालमा लोकसेवामार्फत पुनः ना.प्रा.स. पदको जागिरमा जोडिनुभएका ताम्राकार उमेरहदका कारण छैटौँ अधिकृतबाट सेवा निबृत्त हुनुभएको हो ।

यस्तै, स्मृति दिवसका अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारी सेवा निबृत्त दिलबहादुर खत्रीलाई सम्मान सम्मान गरेको छ । वि.सं. २०५२ चैत–७ गते निजामती सेवामा प्रवेश गर्नुभएका खत्रीले सङ्गठनको वृद्धिमा पु¥याउनुभएको योगदान साथै निजामती कर्मचारीका रुपमा रहँदा इमान्दारिताका साथ सेवा प्रदान गर्नुभएकोमा सम्मान गरिएको नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीले बताउनुभयो ।

ताम्राकार र खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराई लगायतले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा एमाले खोटाङका अध्यक्ष देवबिक्रम राई, नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, एमाले नगर समिति अध्यक्ष गोपालचन्द्र आचार्य लगायतको उपस्थिति थियो ।

वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका शहीद जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिएको बिरोधमा कर्मचारीहरुको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा ऐक्यवद्धता जनाउँदै सहभागी बन्नुभएका शहीद जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो ।

बिरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली शहीद जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी एवम् नेकपा (माओवादी केन्द्र) खोटाङका नेता सुमन श्रेष्ठले बताउँदै आउनुभएको छ । प्रहरीको गोली लागेर ज्यान गुमाएका शहीद जोशीलाई नेपाल सरकारले वि.सं. २०७४ माघ–२२ गते शहीद घोषणा गरेको थियो ।

कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले मनोज–झपेन्द्र स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।

शहीद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन–१३ गते शहीद मनोजमार्ग सरसफाइ एवम् साउन–१४ गते रक्तदान र जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो । सोही कर्मचारी आन्दोलनमा सहभागी हुनुभएका कास्कीका झपेन्द्र कार्की वि.सं. २०४७ वैशाख–१७ गते मारिनुभएको हो ।

दिक्तेलका बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा जोशीको वि.सं. २०३० असोज–२३ गते जन्म भएको थियो । वास्तबिक नाम सर्मेन्द्र भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी साँस्कृतिक समाज तथा अनेरास्ववियुमा आवद्ध हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया