खोटाङ, १६ साउन । ‘एउटै रङका च्यातिएका लुगा, भोको पेट ! तर, टिठ लाग्दो तीन अनुहार !’ यी तीन अनुहारको बाध्यता बुझ्दा जो कोहीको मन चसक्क चस्कन्छ । बुबाआमाको सहाराविहीन बनेका यी तीन अनुहारको पेटमा धेरै छाक अन्नको माडसमेत पसेन भने, कति रात त उनीहरु नुसती नै बिहान हुन्थ्यो !
पठनपाठनको कुरा त एकादेशको कथा जस्तै भइसकेको अवस्थाका रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले उदारता देखाएको छ । डाँडागाउँका स्थानीय टेकबहादुर नेपालीको दश वर्षीया छोरी मनकुमारी नेपाली, नौँ वर्षीया छोरी भूमिका नेपाली र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उनीहरुको घरैमा पुगेर उद्दार गरेको हो ।
उद्दार गरिएका सहाराविहीन तीनैजना बालबालिकालाई संरक्षणका लागि विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “टेकबहादुर यही साउन–६ गतेदेखि जबरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । उनको २२ वर्षीया श्रीमती निर्मला नेपालीको वि.सं. २०८० फागुन–२२ गते निधन भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन बनेका तीन बालबालिको उद्दार गरिएको हो । उनीहरु तीनैजनाको पालनपोषण तथा पठनपाठनका लागि विराटनगरस्थित बालसेवा आश्रम पठाइएको छ ।”
कमजोर आर्थिक अवस्थाका परिवारमा जन्मिएका तीन बालबालिकाको लालनपालन गर्ने अभिभावक कोही नभएपछि हिजो साउन–१५ गते (मङ्गलबार) उनीहरुलाई घरैबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका तीनैजना बालबालिकाको स्वास्थ्य परीक्षण गरेर संरक्षण, पालनपोषण तथा पठनपाटनका लागि आज (बुधबार) खोटाङ यातायात प्रा.लि.को हलेसी दर्शन नामको बा ३ ख २९५८ नम्बरको सार्वजनिक बसको टिकट काटेर दुईजना प्रहरीसहित विराटनगर पठाइएको हो ।
सहाराविहीन बालबालिकाको बुबा टेकबहादुर सुस्तमनस्थितिकी २२ वर्षीया महिलालाई विवाह गर्ने बहानामा ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती बलात्कार गरेको आरोपमा महिलाको आफन्तले दिएको जाहरीको आधारमा प्रहरीले साउन–६ गते पक्राउ गरेका थिए । दैनिकजसो मादक पदार्थ सेवन गरेर बस्ने आमाको छ महिनाअघि मृत्यु भएपछि बुबा टेकबहादुरले बनीबुतो गरेर पालनपोषण गर्दै आएकामा बुबासमेत बलात्कार आरोपमा पक्राउ परेसँगै तीन बालबालिकाको बिचल्ली भएको हो ।
बुबाआमाको लापरबाहीका कारण दुवैको सहारा गुमाएका तीन बालबालिका ठूलीआमा सुमिना नेपालीकामा आश्रय लिएर बसिरहेका थिए । कमजोर आर्थिक अवस्थाका सुमिनाको छोराछोरीसमेत अरुको घरमा गोठालो बस्ने गरेकाले उनीहरुको लापनपालनमा समस्या हुने भएपछि उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उद्दार गरेर जिल्ला ल्याएपछि ती बालबालिकालाई दिक्तेल बजारका केही स्थानीय बासिन्दाले लुगा तथा केही आर्थिक सहयोगसमेत उपलब्ध गराएका छन् । खान, लाउन र सुत्नसमेत नपाएका उनीहरु प्रहरी टोलीले उद्दार गरेर सरसफाइ गर्नुका साथै लुगासमेत फेराइदिएपछि फुरुङ्ग देखिएका छन् ।
सहाराविहीन तीन बालबालिकाको उद्दार गरेर प्रहरीले ठूलो समस्या समाधान गरेको स्थानीय फडिन्द्र श्रेष्ठले बताउनुभयो । “बुबाआमा दुवैको सहाराविहीन बनेका तीन बालबालिका कति दिन त भोकै बसेका थिए । उनीहरुको खाने, बस्ने र सुत्नेसमेत टुङ्गो थिएन”, उहाँले भन्नुभयो, “पढ्ने उमेरका बालबालिका खान, लाउन र बस्नसमेत समस्यामा परेका थिए । उनीहरुको उद्दार गरेर प्रहरीले ठूलो समस्या समाधान गरेको छ ।”
प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्दार गरेको थियो । उद्दार गरिएका उनीहरु अहिले मानव सेवा आश्रम विराटनगरमा सुरक्षित तवरले जीवनयापन गरिरहेका छन् ।
बेसहारा बनेका व्यक्तिको सहज जीवनयापनसँगै खोटाङलाई सडक मानव मुक्त बनाउने अभियानस्वरुप उद्दार गर्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरीले शुरु गरेको यो अभियानलाई जिल्लावासीले सहयोगसँगै प्रशंसा गरेका छन् ।