चट्याङले विद्युत ट्रान्सफरमर जल्दा ९० घर उपभोक्ता तीन दिनदेखि अन्धकारमा

Halesi Khabar
0 Shares

खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन् । साउन–१५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफरमर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना, डढेली र खत्रीगाउँका विद्युत उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।

चट्याङले जलेको ट्रान्सफरमर मर्मतका लागि तीन दिनपछि प्राविधिक टोली आए पनि अर्को फेर्नुपर्ने भन्दै फर्किएको स्थानीय बिक्रम राईले बताउनुभयो । “विद्युत अवरुद्ध भएपछि प्राविधिकलाई पटकपटक फोन ग¥यौँ । तीन दिनपछि बल्ल आज (बिहीबार) आउनुभएको थियो । तर, अर्को ट्रान्सफरमर फेर्नुपर्छ भन्दै मर्मत नै नगरी फर्किनुभयो”, उहाँले भन्नुभयो, “तीन दिनदेखि हामी अन्धकारमा बस्न बाध्य छौँ । कहिले पुनः सञ्चालन गरिदिने हो टुङ्गो छैन । प्राधिकरणको बेवास्ताले हामी मारमा परेका छौँ ।”

तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा मोबाइल फोन स्वीच अफ हुनुका साथै कुटानीपिसानीका काम गर्ने मिलसमेत बन्द भएको स्थानीयले बताएका छन् । आफ्नो गाउँमा विद्युत सञ्चालन भएपछि उज्यालोका लागि त्यसअघि प्रयोग हुँदै आएको टुकीसमेत विस्थापन गरिएकाले समस्या भएको उपभोक्ताहरुले बताएका छन् ।

अवरुद्ध विद्युत सञ्चालनका लागि उपभोक्ता आफैले अर्को ट्रान्सफरमर ढुवानी गरेर ल्याउनुपर्ने भन्दै निरीक्षणमा आएको प्राविधिक फर्किएको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राईले जानकारी दिनुभयो । “हामीले महसुल तिर्ने हो । महसुल तिरिसकेपछि बिग्रिएको ठाउँमा विद्युत प्राधिकरणले मर्मत गर्नुपर्छ”, उहाँले भन्नुभयो, “प्राधिकरणका कर्मचारीहरु गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभयो । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युतको ट्रान्सफरमरसमेत साउन–१५ गतेको चट्याङले जलेको जनाइएको छ । विद्युत ट्रान्सफरमर जलेपछि निर्मलीडाँडा र बाहुनीडाँकाका स्थानीय उपभोक्तासमेत अन्धकारमा बस्न बाध्य छन् ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य ठाउँमा समेत पटकपटक विद्युत अवरुद्ध हुँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत प्राधिकरणले समयमा मर्मत गरेर पुनः सञ्चालनमा नल्याउँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् ।

जिल्लामा सञ्चालन गरिएको विद्युत छिनछिनमा आउने तथा छिनछिनमा जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताहरुले बताएका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ ।

ट्रान्सफरमर जलेर अवरुद्ध भएको विद्युत पुनः सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख सोबितबहादुर क्षत्रीले बताउनुभयो । “साउन–१५ गतेको चट्याङले तीन ठाउँको ट्रान्सफरमर जलेको भन्ने जानकारी प्राप्त भएको छ । तीनवटै ठाउँमा नयाँ ट्रान्सफरमर जडान गरेपछिमात्र विद्युत सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कार्यालयमा गाडी नभएका कारण ट्रान्सफरमर पठाउन सकिएको छैन । कार्यालयको गाडी विराटनगर गएको छ । उताबाट फर्किएपछि पठाउने तयारी गरेका छौँ ।”

पछिल्लो समय ३३ केभी प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युतमा समेत समस्या आएको दिक्रेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताउनुभएको छ । वि.सं. २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रशारण लाईनको विद्युत जिल्लाका सबै स्थानीय तहमा विस्तार पुगेको छ ।

जिल्लामा विस्तार गरिएको विद्युत अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढी तथा पहिरो आउना साथ अवरुद्ध हुने गरेको छ । वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत पुनः सञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ ।

वर्षाद्को समयमा विद्युत अवरुद्ध नहोस भनेर प्राधिकरणले प्रशारण लाईन वरपर रहेको झाडीसमेत फाँड्ने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरी तीन जिल्लामा विस्तार गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया