खोटाङ, १८ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमा सुनकोशी नदीस्थित बाईटार–चिपटार जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको हो ।
सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएसँगै सदियौँदेखि डुङ्गा चढेर नदी वारपार गर्नुपर्ने बाध्यता सँधैका लागि अन्त्य भएको स्थानीय बासिन्दाले बताएका छन् । झोलुङ्गे पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाईटार र बलुई तथा साबिकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार डुङ्गाबाट नियमित सुनकोशी नदी वारपार गर्दै आएका थिए ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका स्थानीय बासिन्दाले समेत शहरबाट ‘नुनदेखि सुन’सम्म ढुवानी गरेर ल्याउन सोही घाट प्रयोग गर्दै आएका छन् । ढिलै भएपनि चिपटार जोड्ने सुनकोशी नदीमा झोलुङ्गे पुल बनेपछि उनीहरूको डुङ्गा चढ्नुपर्ने बाध्यता सँधैका लागि अन्त्य भएको हो ।
झोलुङ्गे पुल निर्माणको जिम्मा नेपाल फूलबारी–स्वर्णिम–अन्सुमन जेभी काठमाडौँले लिएको थियो । वि.सं. २०७८ कातिक–२६ गते बनिसक्नुपर्ने झोलुङ्गे पुल करिब तीन वर्ष ढिलागरी हालै सम्पन्न भएको हो ।
ठेकेदार कम्पनीले ३० महिनामा सक्नेगरी वि.सं. २०७६ वैशाख–२६ गते झोलुङ्गे पुल निर्माणको ठेक्का लिएको थियो । ठेकेदारको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण निर्माणाधीन पुलको टावर वि.सं. २०७९ चैत–१० गते ढलेको थियो ।
उदयपुरतर्फको टावर ढलेसँगै निर्माणाधीन झोलुङ्गे पुल पुनः निर्माणको काम वर्ष दिनसम्म ठप्प भएको थियो । टावर ढलेसँगै निर्माणका काममा खटिएका कामदार निर्माणस्थल छाडेर हिँडेपछि चौतर्फी ठेकेदार कम्पनीको आलोचना भएको थियो ।
निर्माणाधीन पुलको काम अलपत्र भएको अवस्थामा प्रदेश सांसद भूपेन्द्र राईको दबाबमा वि.सं. २०८० फागुन–२९ गतेदेखि पुल निर्माणको काम पुनः शुरु भएको थियो । पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई निरन्तर दबाब दिएपछि यही साउन पहिलो साता पुल निर्माणको काम पूरा गरेको हो ।
पुलको काम सकिएपछि साउन–६ गते सबै कामदार हिँडेको डिकुवास्थित सुनकोशी आधारभूत विद्यालय बाईटारका प्रधानाध्यापक विशाल राईले बताउनुभएको छ । बाईटारबाट सुनकोशी नदी तरेपछि उदयपुरको चिपटार–बेतेनी हुँदै कटारी पुग्न सकिन्छ ।
घाटको वारि र पारि दुवैतर्फ कच्ची सडक बनिसकेको छ । कटारी पुगेर आवश्यक सामग्री ल्याउन सबैभन्दा छोटो दूरी भएकाले डिकुवाका स्थानीय बासिन्दाले जोखिम मोलेर सदियौँदेखि डुङ्गाको यात्रा गर्दै आएका थिए ।