खोटाङ, १९ साउन । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेर पुनः सञ्चालनमा ल्याइएको छ । यही साउन–१५ गते साँझ वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमरको ठाउँमा नयाँ ट्रान्सफरमर ढुवानी गरेर जडान गरेपछि गएरातिदेखि विद्युत सञ्चालनमा आएको हो ।
खार्मीस्थित सोतीमा जडान गरिएको ट्रान्सफरमर चट्याङले जल्दा सोती, फूलबिसौना, डढेली र खत्रीगाउँका ९० घर विद्युत उपभोक्ता अन्धकारमा बस्न बाध्य बनेका थिए । चट्याङले जलेको ट्रान्सफरमरको ठाउँमा प्राधिकरणले उपलब्ध गराएको नयाँ ट्रान्सफरमर उपभोक्ताले रु दश हजारमा रिजर्भ गरिएको ट्याक्टरमार्फत ढुवानी गरेर जडान गरेपछि विद्युत सञ्चालनमा आएको जनाइएको छ ।
अवरुद्ध विद्युत सञ्चालनका लागि उपभोक्ताले प्रतिघर रु १२५ का दरले रकम सङ्कलन गरेर ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राईले जानकारी दिनुभयो । “उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा विद्युत प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ । तर, विद्युत प्राधिकरणले उपभोक्तालाई नै ट्रान्सफरमर ढुवानी गर्न लगाएको छ”, उहाँले भन्नुभयो, “अन्धकारमा बस्नुभन्दा सबै घरधुरी उपभोक्ताबाट रकम सङ्कलन गरेर ट्रान्सफरमर ढुवानी ग¥यौँ । दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफरमर प्राधिकरणकै प्राविधिक आएर जडान गरिदिएका छन् ।”
खार्मीस्थित सोतीमा जडान गरिएको ट्रान्सफरमरमार्फत विद्युत उपभोग गर्दै आएका उपभोक्ताले आगामी दिनमा अवरुद्ध विद्युत मर्मत तथा व्यवस्थापनका लागि समितिसमेत निर्माण गरेका छन् । अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामुहिकरुपमा उपलब्ध गराउनेगरी स्थानीय विर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
साउन–१५ गते परेको चट्याङले खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युतको ट्रान्सफरमरसमेत जलेको थियो । विद्युत ट्रान्सफरमर जलेपछि निर्मलीडाँडा र बाहुनीडाँकाका स्थानीय उपभोक्ता अहिले पनि अन्धकारमै बसिरहेका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत यसअघिदेखि नै पटकपटक विद्युत अवरुद्ध हुँदै आएको छ । लामो समयदेखि पटकपटक अवरुद्ध हुँदै आएको विद्युत समयमा प्राधिकरणले मर्मत गरेर पुनः सञ्चालनमा नल्याउँदा जिल्लाका उपभोक्ता हैरानीमा पर्ने गरेका छन् ।
जिल्लामा सञ्चालन गरिएको विद्युत छिनछिनमा आउने तथा छिनछिनमा जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताहरुले बताएका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ ।
ट्रान्सफरमर जलेर अवरुद्ध भएको विद्युत पुनः सञ्चालनमा ल्याउन प्राधिकरणले पहल गरिरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख सोवितबहादुर क्षत्रीले बताउनुभयो । “चट्याङले जलेको ठाउँमा नयाँ ट्रान्सफरमर जडान गरेपछिमात्र विद्युत सञ्चालन गर्न सकिन्छ । खार्मीमा उपभोक्ता आफैले ढुवानी गरेर सञ्चालन गरेका छन् । त्यो ढुवानीबापतको रकम प्राधिकरणले उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो, “बाहुनीडाँडा र निर्मलीडाँडामा प्राविधिक टोलीसहित ट्रान्सफरमर पठाइसकेका छौँ । सम्भवतः आजै बेलुकासम्ममा ती दुवै ठाउँमा विद्युत सञ्चालन हुन्छ ।”
पछिल्लो समय ३३ केभी क्षमताको केन्द्रीय प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युतमा समेत समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताउनुभएको छ । वर्षाद्को समयमा विद्युत अवरुद्ध नहोस भनेर प्रशारण लाईन वरपर रहेको झाडीसमेत फाँड्ने गरिएको प्राधिकरणले जनाएको छ ।
वि.सं. २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रशारण लाईनको विद्युत जिल्लाका सबै स्थानीय तहमा विस्तार पुगेको छ । जिल्लामा विस्तार गरिएको विद्युत अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढी तथा पहिरो आउना साथ अवरुद्ध हुने गरेको छ ।
वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत पुनः सञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरी तीन जिल्लामा विस्तार गरिएको छ ।