खोटाङ, २० साउन । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क मच्चिएको छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरमा बाँधेको खसीबाख्रा, गोठमा बाँधिएको गाईको बाच्छा तथा घरमा बाँधेर राखिएको कुकुरसमेत मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।
केही दिनअघिदेखि गाउँ पसेको बाघले शुक्रबार राति साबिक राजापानी गाविसको वडा नं. २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति सम्भुप्रसाद भण्डारीको बाख्राखोरभित्र बाँधिएको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउको बाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ ।
गाउँ पसेर दैनिकजसो बिगार गर्दै आएको बाघले शनिबारमात्रै भोगटिनीकै देविबहादुर कार्कीको बाख्राको बोका मारेको जनाइएको छ । चरणबाट घर फर्काउने क्रममा बाटो छेकेर बाख्राको बोकालाई आक्रमण गरी बोकेर हिँड्दै गर्दा गोठालाहरुले बाघलाई धपाएको पीडित कार्कीले जानकारी दिनुभयो ।
चरणका लागि जङ्गल लगिएको खसीबाख्रा तथा गाईगोरु खाँदै आएको बाघ गाउँ पसेर बिगार गर्न थालेपछि गाउँ नै त्रसित बनेको राजापानीका वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो । “राजापानीमा यसअघि पनि बाघले बिगार गर्दै आएको थियो । यस पटक गाउँमै पसेर खसीबाख्रा तथा कुकुरसमेत मार्न थालेको छ”, उहाँले भन्नुभयो, “गाउँ पसेको बाघले कुनबेला कसको बिगार गर्छ टङ्गो छैन । जङ्गलमा बिगार गर्दै आएको गाउँ पसेपछि सबैलाई सचेत रहन आग्रह गरिएको छ ।”
राजापानीका स्थानीय बासिन्दाका अनुसार केही दिनअघि साबिक ६ नं. वडामा पर्ने मापाचुलीका किर्तिमान कार्कीको गोठमा बाँधेर राखिएको गाईको बाच्छो मारेको जनाइएको छ । जङ्गलबाट गाउँ पसेको बाघले दैनिकजसो बिगार गर्न थालेपछि राजापानीका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश लेकाली भेगमा हरेक वर्ष बाघले बिगार गर्ने गरेको खबरहरु प्राप्त हुने गरेको छ । उँभौलीको समयमा चरणका लागि लेक लगिएका भेँडाबाख्रा तथा चौरीका बाच्छाबाच्छी बाघले मार्ने गरेको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।
दुई वर्षअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा गाउँ पसेको चितुवाले आतङ्क मच्याएको थियो । खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा उसबेला दुई दर्जन बढी खसीबाख्रा मारेको जनाइएको छ ।