त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन गरियो

Halesi Khabar
112 Shares

खोटाङ, २१ साउन । त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार ४९० लगानीमा निर्माण गरिएको दुईवटा हवन कुण्ड सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।

वि.सं. २०८१ वैशाख–४ गते सम्झौता गरेर निर्माण शुरु गरिएको हवन कुण्ड गत असार–१६ गतेसम्ममा सम्पन्न गर्नेगरी बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले ठेक्का लिएको थियो । हिन्दु, बौद्ध र किराँत कर्मावलम्बीको सङ्गमस्थल हलेसीमा हवन कुण्ड निर्माण गरेर सञ्चालनमा आएपछि पूजाआजा गर्ने भक्तजनलाई सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनुभयो ।

त्रिधार्मिकस्थल हलेसी गुफाको प्रमुख प्रवेशद्धारको बाँयापट्टी निर्माण गरिएको हवन कुण्ड कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार औपचारिक उद्घाटन गर्नुभयो । निवर्तमान मुख्यमनत्री कार्कीले नवनिर्मित हवन कुण्डको शिलालेख वाचन गरेर, हवन कुण्डको प्रवेशद्धारमा राखिएको रिबन काटेर तथा हवन कुण्डमा पूजा गरेर औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

औपचारिक उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवर्तमान मुख्यमन्त्री कार्कीले त्रिधार्मिकस्थल हलेसी तीनवटा धर्मको धार्मिक राजधानी भएको दाबी गर्नुभयो । “हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल भएको ठाउँ संसारमा कहिँ पनि छैन । हलेसी तीनवटा धर्मको सङ्गमलस्थल भएकाले धार्मिक राजधानी हो”, उहाँले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसीसहित पूर्वका तीनवटा धार्मिकस्थलको प्रवद्र्धन गर्न आफू नेतृत्वको प्रदेश सरकारले योजना बनाएको छ । प्रदेश सरकारले बनाएको योजनामा हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन पवद्र्धन गर्ने उद्देश्य राखिएको छ । यसै योजना अन्तरगत त्रिधार्मिकस्थल हलेसीमा कोशी प्रदेश सरकारको सहयोगमा हवन कुण्ड निर्माण गरिएको हो । यसले विश्वको ध्यान केन्द्रित गर्दछ ।”

गत असार–२० गते नै निर्माण सम्पन्न भएको हवन कुण्ड वैशाख–२२ गते निवर्तमान मुख्यमन्त्री कार्की आफैले शिलान्यास गर्नुभएको थियो । भूइँ ढलान तथा फलामे ट्रस प्रयोग गरेर निर्माण गरिएको हवन कुण्ड तोकिएको समयभन्दा चार दिनपछि ठेकेदार कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

धार्मिकरुपले मात्र नभइ प्राकृतिकरुपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै मन्दिर व्यवस्थापन समितिसमेत लागि परेको छ ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दाँयापट्टी नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाखा)समेत निर्माण गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ बाट निर्माण शुरु गरिएको अतिथिगृह शुरुमा सबै लगानी आयल निगमको हुने भनिएको थियो ।

आयल निगमबाट रु दुई करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरेर अतिथिगृहको भौतिक संरचना निर्माण सम्पन्न गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । करिब रु पाँच करोड लगानीमा सम्पन्न हुने अतिथिगृहको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

यसैबीच, विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला शुरु भएको आज तेस्रो हप्ता अर्थात तेस्रो (सोमबार) पनि उत्तिकैमात्रामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी मन्दिर ओहोरदोहोर गर्ने बाटोमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।

साउनको पहिलो सोमबारबाट शुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन् । हलेसीमा लागेको बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चिनको तिब्बत लगायतका देशबाट दर्शनार्थी एवम् भक्तजन आएका छन् ।

हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाएर पूजापाठ गर्ने प्रचलन रहेको हलेसी विकास समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । मनोकांक्षा पूरा हुने जनविश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाएर पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

बोलबमको अवसरमा हलेसी आउने विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ ।

बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटलहरु भरिभराउ भएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषको समेत घुइँचो लागेको छ ।

 

तपाईको प्रतिक्रिया