क्यान्सर पीडित नीरमायाँलाई २४१ जना शुभेच्छुकको रु ११ लाख ४८ हजार सहयोग

Halesi Khabar
203 Shares

खोटाङ, २४ साउन । खोटाङमा जन्मिएर गोर्खा विवाह गर्नुभएकी क्यान्सर पीडित नीरमायाँ थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार ६७० सहयोग रकम हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित खण्डपुरमा जन्मिएर गोर्खाको गण्डकी गाउँपालिका–५ रामपुरमा विवाह गर्नुभएकी क्यान्सर पीडित ४८ वर्षीया नीरमायाँलाई फेसबुक ग्रुप बनाएर सञ्चालन गरिएको ‘नीरमायाँ थापामगर बचाऔँ’ अभियानका क्रममा सङ्कलन भएको सहयोग रकम आज (बिहीबार) हस्तान्तरण गरिएको हो ।

स्तनभन्दा मुनि मासुको डल्लो देखिएसँगै असहज भएर बिरामी पर्नुभएकी तीन छोरीकी आमा नीरमायाँको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा उपचार भइरहेको जनाइएको छ । सुन्तलेबाट २८ वर्ष अगाडि गोर्खाका हीराबहादुर थापामगरसँग विवाह गर्नुभएकी नीरमायाँ परिवारसहित ललितपुरको एकान्तकुना बस्दै आउनुभएको छ ।

मासुको डल्लोमा क्यान्सरकोे भाईरस देखिएपछि त्यसलाई मार्न र सुकाउन आठ पटक किमो चढाइसक्नुभएकी नीरमायाँको भोलि (साउन–२५ गते) सोही हस्पिटमा अप्रेशन (शल्यक्रिया) गर्ने तयारी गरिएको जनाइएको छ । ज्याला मजदुरी गरेर परिवार चलाउँदै आउनुभएकी नीरमायाँलाई तीन महिनाअघिमात्र क्यान्सर पुष्टि भएको हो ।

घरको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएपछि नीरमायाँका सहोदर भाइ केदार आलेमगरले अभियान्ताहरुसँगको सहकार्यमा रकम सङ्कलन गर्नुभएको जनाइएको छ । गत जेठ–१९ गतेबाट शुरु गरिएको सहयोग रकम सङ्कलन अभियानमा नेपालसहित रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनुभएका २४१ जना आफन्त तथा शुभेच्छुकबाट सङ्कलन गरिएको जनाइएको छ ।

सहयोग रकम सङ्कलन अभियानमा ध्यानकुमार राई, बमबहादुर मगर, ईश्वर बञ्जरा, मानबहादुर मगर ‘अर्जुन’, प्रकाश बञ्जरा, सन्देश मगर लगायतका अभियान्ताले सहयोग रकम सङ्कलन गर्नुभएको भाइ केदारले बताउनुभएको छ । दुई महिना सञ्चालन गरिएको सहयोग सङ्कलन अभियानमा अभियान्ता ध्यानकुमार राईको खातामा रु नौँ लाख २८ हजार ६२७ तथा क्यान्सर पीडित नीरमायाँको खातामा रु दुई लाख २० हजार ४३ रकम सङ्कलन भएको जनाइएको छ ।

सङ्कलित रकम अभियान्ताहरु बमबहादुर मगर, ईश्वर बञ्जरा, महेन्द्र मगर, ईन्द्र लिमेलमगर, सुखराज राई, रेनु मगर लगायतको उपस्थितिमा क्यान्सर पीडित नीरमायाँलाई घरैमा लगेर हस्तान्तरण गरिएको जनाइएको छ । भाडाको घरमा बस्दै आउनुभएकी नीरमायाँलाई सनराईज बैङ्कमा सङ्कलित रकमको चेक हस्तान्तरण गरिएको अभियान्ता बमबहादुरले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया