खोटाङ, २७ साउन । खोटाङमा भीरबाट लडेर र माछापोखरीमा डुबेर एकैदिन दुईजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो ।
मनकुमारीको कोदो रोपेर घर फर्कनेक्रममा भीरबाट लडेर गएराति तथा देविप्रसादको करेसाबारी डुल्नेक्रममा माछापोखरीमा डुबेर आज (आइतबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । माइती गाउँ सोही गाउँपालिकाको वडा नं. ६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देविप्रसादको आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ ।
मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा हिजो (शनिबार) दिउँसो कोदो रोप्न गएपछि बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।
देविप्रसाद भने, बिहान उठ्ने बित्तिकै करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब १५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।
घटना शङकास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिनुभयो । “घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैजनाले मादक पदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उहाँले भन्नुभयो, “आपसमा झगडा गरेको नभइ दुवैजना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेकोजस्तो देखिन्छ । घटनास्थलमा दुवैजनाको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”
सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेकाले केही भन्न नसकिने प्रहरीले जनाएको छ । मृतकमध्ये देविप्रसादको शव जिल्ला अस्पताल खोटाङ ल्याएर परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर ज्यान गुमाएकी मनकुमारीको शव घटना मुचुल्का उठाएर परीक्षणका लागि जिल्ला ल्याउने तयारी भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । तीन छोरा र तीन छोरीकी आमा मनकुमारीको श्रीमानको समेत यसअघि नै मृत्यु भइसकेको आफन्तले बताएका छन् ।