खोटाङकी एञ्जल राईलाई ‘मिस मङ्गोल नेपाल–२०२४’ को उपाधि

Halesi Khabar
1k Shares

खोटाङ, २७ साउन । ‘मिस मङ्गोल नेपाल–२०२४’को उपाधि खोटाङकी एञ्जल राईले जित्नुभएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४ औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घको सहकार्यमा एक्सन इन्टरटेनमेन प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पार्नुभएको आयोजक एक्सन इन्टरटेनमेनका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिनुभयो । स्नातक उत्तिर्ण गर्नुभएकी उपाधि विजेता एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भइ काम गर्ने अवसरसमेत प्राप्त गर्नुभएको छ ।

३० औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट रनरअप हुनुभएको छ । स्नातक अध्ययनरत २१ वर्षीया लिम्बुले रु ५० हजार पुरस्कार पाउनुभएको छ ।

प्रतियोगितामा बाराकी १७ वर्षीया शाहिशा राईले ‘मिस मङ्गोल मधेश’सहित सेकेन्ड रनरअपको उपाधि चुम्न सफल हुनुभएको छ । शाहिशालाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रभु बैङ्को प्रायोजनमा सञ्चालित प्रतियोगितामा मिस मङ्गोल कोशी मिश्रा राई (भोजपुर), मिस मङ्गोल बागमती मञ्जु तामाङ (रामेछाप), मिस मङ्गोल गण्डकी स्मारिका थापा (पूर्व नवलपरासी), मिस मङ्गोल लुम्बिनी काजोल थारु (बर्दिया), मिस पर्सनालिटी मेन्दा ल्याह्मु शेर्पा (शङ्खुवासभा) घोषित भएका छन् । प्रतियोगिताका विजेतालाई सभामुख देवराज घिमिरेले पुरस्कार तथा ताज पहि¥याउनुभएको हो ।

वरिष्ठ चलचित्र निर्देशक एवम् अभिनेता नीर शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा संस्कृतिविद् डा. भक्त राई, हास्य कलाकार मनोज गजुरेल, पूर्व मिस मङ्गोल जाङमु शेर्पा, शिक्षासेवी एवम् प्याजेन्ट कोज पूर्ण लामा र स्टाफ कलेज पुल्चोकका डेपुटी डाइरेक्टर शिवहरी अधिकारी निर्णायक हुनुहुन्थ्यो । आइआइएफटीले तयार पारेको पहिरन र एसिका एकेडेमीको मेकअप तथा हेयर स्टाइलमा प्रतियोगीहरु मञ्चमा देखिएका थिए ।

वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिताको १४ औँ संस्करणमा देशभरका १८ जनाको सहभागिता रहेको थियो । प्रतियोगिता समापन कार्यक्रममा पूर्वमुख्यमन्त्री शेरधन राई, प्रभु बैङ्कका सीईओ अशोक शेरचन, आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पा, रिडी ग्रुप लिमिटेडका अध्यक्ष मानबहादुर बुढा, रिद्धी–सिद्धी ज्वेलर्सका अध्यक्ष केदारनाथ गुप्तालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया