खोटाङ, २८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलन आगामी भदौमा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलन भदौ–१० र ११ गते दिक्तेल बजारमा हुने भएको हो ।
सम्मेलनको तयारी स्वरुप विभिन्न आठवटा उपसमितिहरु गठन गरिएको अखिल क्रान्तिकारी खोटाङका जिल्ला संयोजक डार्विन चाम्लिङले जानकारी दिनुभयो । यही साउन मसान्तभित्र जिल्लाका दशवटै स्थानीय तहमा पालिकास्तरीय सम्मेलन सम्पन्न गरेर भदौ–१० र ११ गते जिल्ला सम्मेलन गर्ने तयारी गरिएको जनाइएको छ ।
‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, बिकृति, बिसङ्गति र बेथितिका विरुद्ध १९ औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनका लागि केन्द्रीय सदस्य एलबी मगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । तीन सदस्यीय प्रचारप्रसार उपसमितिको सदस्यमा ईनिसा परियार र उमेश भट्टराई रहनुभएको छ ।
यस्तै, जिल्ला संयोजक डार्विन चाम्लिङको संयोजकत्वमा तीन सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति, आदेश थापाको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, भूवन आचार्यको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, रोशन राईको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन उपसमिति गठन गरिएको छ । उमेश भट्टराईको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन उपसमिति, ज्ञानेन्द्र विश्वकर्माको संयोजकत्वमा कलाकार व्यवस्थापन उपसमिति र लक्ष्मी राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
जिल्ला सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षकगरी ५२६ जना विद्यार्थी सहभागी हुने जिल्ला संयोजक चाम्लिङले जानकारी दिनुभएको छ । दश पालिका, छ क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठिन सङ्गठनबाट प्रतिनिधि तथा पर्यवेक्षक सम्मेलनमा सहभागी हुने जनाइएको छ ।