क्यान्सरपीडित स्रष्टा चाम्लिङको उपचारार्थ हङकङमा जुट्यो पाँच लाख ७३ हजार सहयोग

Halesi Khabar
161 Shares

खोटाङ, २८ साउन । क्यान्सर रोगबाट ग्रसित ख्यातिप्राप्त गीतकार, कवि एवम् प्राज्ञ टीका चाम्लिङको उपचारका लागि हङकङमा करिब छ लाख आर्थिक सहयोग जुटेको छ । केही महिनाअघिदेखि क्यान्सर रोगले ग्रसित स्रष्टा चाम्लिङको उपचारार्थ खोटाङ सेवा समाज हङकङको पहलमा रु पाँच लाख ७३ हजार ५०० सहयोग रकम जुटाइएको हो ।

समाजको आधिकारिक वाट्सएप ग्रुप र अन्य शुभचिन्तकबाट सङ्कलित रकम तथा स्वस्थ्य लाभको कामनासहितको प्रमाणपत्र किरात राई साँस्कृतिक कलाकार सङ्घ नेपालको रोहबरमा हस्तान्तरण गरिएको छ । हङकङमा सङ्कलित आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा किरात राई साँस्कृतिक कलाकार सङ्घले सङ्कलन गरेको रु २८ हजार ६० समेत प्रदान गरेको जनाइएको छ ।

खोटाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएर बसोबास गर्दै आउनुभएका स्रष्टा चाम्लिङको उपचारका लागि खोटाङ सेवा समाज हङकङका उपाध्यक्ष धर्मराज राईको संयोजकत्वमा सहयोग सङ्कलन अभियान थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला निवासी प्राज्ञ कवि तथा वरिष्ठ गीतकार चाम्लिङको क्यान्सर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

गीतसँगै कविता तथा कथा÷समालोचनामा समेत उत्तिकै कलम चलाउँदै आउनुभएका स्रष्टा चाम्लिङ नेपाल प्रज्ञा प्रतिष्ठान, गीतकार सङ्घ नेपाल, बेलायती प्रतिभा प्रष्ठिान लगायतमा आबद्ध रहनुभएको छ । लामो समयदेखि प्राज्ञिक क्षेत्रमा सक्रिय स्रष्टा चाम्लिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत हात पारिसक्नुभएको छ ।

क्यान्सरपीडित स्रष्टा चाम्लिङको उपचारका लागि खोटाङ कलाकार समाजको तर्फबाट दुई पटक गरेर रु चार लाख ८५ हजार ३६६ सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो । “सहयोग सङ्कलन अभियान जारी छ । अहिले पुनः करिब रु तीन लाखजति सङ्कलन भइसकेको छ”, उहाँले भन्नुभयो, “सष्टा चाम्लिङ लामो समयदेखि उपचाररत हुनुहुन्छ । देश र जनताका लागि निरन्तर कलम चलाइरहने एउटा स्रष्टालाई बचाउँनु सबै नागरिकको धर्म हो ।”

साँस्कृतिक अभियन्ताको रुपमासमेत परिचित गीतकार, कवि तथा प्राज्ञ चाम्लिङको उपचारका लागि सहयोगार्थ अन्य सङ्घसंस्था तथा शुभचिन्तकहरुबाट समेत आर्थिक सहयोग रकम जुट्नेक्रम जारी रहेको जनाइएको छ । खोटाङ कलाकार समाज लगायतले स्रष्टा चाम्लिङको जीवन रक्षाका लागि विभिन्न माध्यममबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिरहेका छन् ।

यसैबीच, क्यान्सरपीडित स्रष्टा चाम्लिङले ‘हर्कजङ्ग–छलिशोभा किरात कला पुरस्कार–२०८१’ प्राप्त गर्नुभएको छ । कला–संस्कृति संरक्षक मनिकुमार राईले आफ्नो स्र्गीय बुबाआमाको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषबाट रु २३ हजार ३३३ राशीको पुरस्कार स्रष्टा चाम्लिङको काव्य कृति ‘बागी कविता’लाई प्रदान गरिएको हो ।

किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिको मातहतमा रहनेगरी वि.सं. २०६८ सालमा स्थापना गरिएको पुरस्कार सङ्घको १९ औँ स्थापना दिवसमा प्रदान गरिएको महासचिव पदम थुलुङले जानकारी दिनुभयो । तेह्र वर्षअघि स्थापना गरिएको उक्त पुरस्कारकोषबाट स्रष्टा चाम्लिङ १३ औँ नम्बरमा पुरस्कृत हुनुभएको हो ।

तपाईको प्रतिक्रिया