खोटाङ, २८ साउन । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । वि.सं. २०७२ माघ–१८ गते राति आफन्तकोबाट घर फर्कदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामुहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि आज (सोमबार) कारागार चलान भएका हुन् ।
सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि वि.सं. २०७२ माघ–२० गते आफन्तले दिएको जाहेरीको आधारमा जिल्ला अदालत खोटाङले वि.सं. २०७९ चैत–३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो । कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर हिजो (साउन–२७ गते) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ ।
सामुहिक बलात्कारको घटनापछि लुकिछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले हिजो (आइतबार) राति १०ः०० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ ।
रातको समयमा बाटो छेकेर सामुहिकरुपमा भएको जबरजस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । नौँ वर्षअघि सामुहिकरुपमा बलात्कारमा परेकी किशोरीको अवस्था समान्य रहेको समाचार स्रोतले जनाएको छ ।
फरार प्रतिवादी पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालय खोटाङले यस आर्थिक वर्ष शुरु भएयता आठ जनालाई पक्राउ गरिसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा १२४ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीको अपराध न्यूनीकरण सम्बन्धी सक्रियताले जिल्लावासी सुरक्षित रहेको महसुस गरेका छन् ।