ट्याक्टरले सुमोलाई ठक्कर दिँदा घाइते बनेकी महिलालाई काठमाडौँ पठाइयो

Halesi Khabar
91 Shares

खोटाङ, २९ साउन । गुडिरहेको सुमोलाई बिपरित दिशाबाट आएको ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एक महिला गम्भीर घाइते भएका छन् । हलेसीबाट जयराजघाटतर्फ जाँदै गरेको ट्याक्टरले काठमाडौँबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित पातीखर्कमा आज (मङ्गलबार) अपरान्ह ठक्कर दिँदा सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ६३ वर्षीया अञ्जुकला राई गम्भीर घाइते हुनुभएको हो ।

प्रदेश २–०३–०१ त ५०२३ ट्याक्टर र ना १ ज ४२४५ नम्बरको सुमो आपसमा ठोक्किएर भएको दुर्घनाका घाइते अञ्जुकलाको नगर अस्पताल दुर्छिममा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । घाइते अञ्जुकलाको दाहिने आँखा र देब्रे खुट्टाको घुँडामा चोट लागेको देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्घटना लगत्तै नगरपालिकाको एम्बुलेन्स लगेर उद्धार गरिएकी अञ्जुकलालाई नगर अस्पतालमा भर्ना गरेर प्राथमिक उपचार गर्दा सम्भव नभएपछि सोही एम्बुलेन्समा स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौँ पठाइएको नगरप्रमुख राईले जानकारी दिनुभयो । दुर्घटनाका घाइते अञ्जुकलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

दुर्घटनाका घाइतेको उद्धारका लागि घटनास्थलमा खटिएका प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त सुमोमा अञ्जुकलासहित नौँजना यात्रु र चालक तथा ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए । दुर्घटनामा अञ्जुकला बाहेक अन्य सबैजना सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै ट्याक्टर र सुमो चालकलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । दुर्घटना गराउने दुवै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेकाले दुर्घटना हुनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया