रास्वपा खोटाङका प्रचार विभाग प्रमुख दाहालद्धारा पार्टी परित्यागको घोषणा

Halesi Khabar
1.2k Shares

खोटाङ, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका प्रचार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिना दिनुभएको छ । दाहालले आफ्नो फेसबुक पेजमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो ।

राजिनामा पत्रमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको “जान्नेलाई छान्ने” भन्ने नाराबाट प्रभावित भएर यस पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि व्यवहारमा चाहीँ “आफ्ना, भ्रष्ट र ठगहरुलाई छान्ने” रहेकोे स्पष्ट देखियो । त्यसकारण पार्टीका नाममा भ्रष्ट, ठग र कुनियत भएका अवसरवादी व्यक्तिहरुलाई समर्थन गरी काम गर्न नसक्ने भएकाले स्वइच्छाले आजका मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको कुरा सम्पूर्णमा जानकारी गराउँदछु । जुनसुकै पार्टीमा आवद्ध भएपनि देश र जनताको सेवाका लागि निश्वार्थ भावले आफ्नो बौद्धिकता र क्षमताको उपयोग गर्दै भ्रष्टाचार र वेथितिका विरुद्ध एकजुट भएर अगाडि बढ्नका लागि सम्पूर्ण देशभक्त, जनताप्रेमी नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।”

हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे स्थायी घर भएका दाहाल लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा आवद्ध हुनुहुन्थ्यो । पछिल्लो समय एमाले पार्टी दुई धारमा विभाजन भएपछि दाहाल माधव नेपालको पक्षमा उभिनुएको थियो ।

नेकपा एकीकृत समाजवादीमा रहेका बेला राष्ट्रिय जनसांस्कृतिक महासङ्घको केन्द्रीय सदस्य तथा खोटाङ काठमाडौँ सम्पर्क मञ्चमा कोषाध्यक्ष हुनुहुन्थ्यो । पछिल्लो समय राननीतिका नाममा भ्रष्टाचार, अनियमिता जस्ता कुराहरु मौलाउँदै गएको र अधिकांश नेता तथा कार्यकर्ताहरु देश र जनताको सेवाका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ लिएर पद र कुर्सीमोहमा दौडिएकाले राजनीतिको गलत परिभाषा सृजना हुँदै गएको प्रति दाहालले सोही राजीनामा पत्रमा चिन्ता व्यक्त गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया