खोटाङ, ३२ साउन । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावाबँेसी गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । विश्वज्योति माध्यमिक विद्यालय लामीडाँडामा कार्यरत शिक्षिका ५७ वर्षीया सावित्रादेवी नेवारको हिजो (बिहीबार) पहिरोले पुरिएर मृत्यु भएपछि गाउँपालिकाको कार्यालयले आज एक दिन शोक बिदा दिएको हो
विद्यालय जाँदै गरेको अवस्थामा शिक्षिका सावित्रादेवीलाई वडा कार्यालय नजिकै गएको पहिरोले पुरेको थियो । तल्लो सडकबाट यात्रा गरिरहनुभएकी शिक्षिका सावित्रादेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले बिहीबार बिहान ९ः४५ बजेको समयमा पुरेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभएको छ
पहिरोले पुरिनुभएकी शिक्षिका सावित्रादेवीलाई प्रहरी र स्थानीय बासिन्दाले पहिरो पन्छाएर करिब डेढ घण्टापछि मृत अवस्थामा निकालेका थिए । शिक्षिका सावित्रादेवीभन्दा अगाडि–अगाडि हिँडिरहनुभएकी सोही स्थानकी ७० वर्षीया हर्ककुमारी श्रेष्ठ भने पहिरोबाट भागेर जोगिनुभएको प्रत्यक्षदर्शीले बताएका छन् ।
वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुईवडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिरोले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको जनाइएको छ । विद्यालय पुग्न करिब १५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिरोले पुरिनुभएकी शिक्षिका सावित्रादेवीको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षणपछि आफन्तको जिल्ला लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
शिक्षण सेवामा आवद्ध भएको ३२ वर्ष पूरा गरिसक्नुभएकी शिक्षिका सावित्रादेवीको अनिवार्य अवकाश हुन केही समयमात्र बाँकी रहेको विद्यालय प्रशासनले जनाएको छ । वि.सं. २०५७ सालदेखि त्यस विद्यालयको प्राथमिक तहको स्थायी शिक्षकमा कार्यरत शिक्षिका सावित्रादेवीको एक छोरामात्र हुनुहुन्छ ।
लाडीडाँडाका अकलबहादुर मगरसँग प्रेम विवाह गर्नुभएकी शिक्षिका सावित्रादेवीको छोरा रविन मगर चार महिनाअघि शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नाम निकालेर शिक्षण पेशामै आवद्ध हुनुहुन्छ । शिक्षिका साबित्रादेवीको श्रीमान अकलबहादुरको भने निजामती सेवा अन्तरगत नायब सुब्बा पदबाट अनिावर्य अवकास हुनुभएको केही वर्षपछि क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।