पहिरोले वर्षभरी खाने धानबालीसहितको खेत बगाएपछि खाल्लेका कृषक चिन्तित

Halesi Khabar
63 Shares

खोटाङ, ३२ साउन । पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित बनेका छन् । यही साउन–१६ र १७ गते परेको अविरल वर्षापछि शुरु भएको पहिरोले खाल्लेस्थित बरडाँडाका कृषकको धानबालीसहितको खेत बगाएपछि उनीहरु चिन्तित बनेका हुन् ।

खेतभन्दा माथिबाट बगेर झरेको पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत पुरेको छ । वर्षेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पहिरोपीडित कोपिलाले बताउनुभयो ।

कोपिलाको खेतको सिरानदेखि नै पहिरो गएको छ । “पहिरोले तीन भागमा दुई भाग खेत बगाइसकेको छ । पानी परेको बेला अहिले पनि खेत बग्नेक्रम जारी छ”, पहिरोपीडित कोपिलाले भन्नुभयो, “छ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।”

पहिरोले कोपिलाको भन्दामाथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा खेत बगेको पाइएको छ । पहिरोको कारण भक्तबहादुरको करिब १०० मिटरमाथि रहेको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभएको छ ।

खाल्लेका स्थानीय बुढापाकाले दिएको जानकारीअनुसार पाँच÷छ दशकअघि पनि सो स्थानको जमिन हलचल भएको थियो । यसपल्ट मुल फुट्नेगरी लामो समय पानी परेपछि खेतीयोग्य भूमिरहेको त्यस क्षेत्रको जमिन वारपार चर्किएर ठूलो पहिरोको रुपमा बग्न थालेको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

पहिरोले पुरिएर यही साउन–३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ–२८ गते साकेला गाउँपालिका–२ रतन्छा निवासी ५६ वर्षीय मधुराज राईको ज्यान गएको जनाइएको छ । लामीडाँडाकी सावित्रादेवीको विद्यालय जाँदै गर्दा तथा मधुराजको सिँचाइ कुलो मर्मत गर्नेक्रममा पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, यही साउन–२१ गते ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी निवासी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको जनाइएको छ । साउन–२० गते राति परेको अविरल वर्षाका कारण स्थानीय मखुखोलामा आएको बाढीले बगाएर घिमिरेको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

यस वर्षको बाढी तथा पहिरोले जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा छ घर परिवारको २८ जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई स्थानीय तह तथा प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेर राखेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले देशभर मनसुनजन्य विपद्का घटना हुनेक्रम जारी रहेको जानकारी दिँदै सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत जिल्लावासीलाई आग्रह गरिरहेको छ ।

मनसुनजन्य विपद्का घटना न्यूनीकरण एवम् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । मनसुनजन्य विपद्को समयमा हुनसक्ने घटनाका पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा विपद् सहायता कक्ष स्थापना गरिएको हो ।

मनसुनजन्य विपद् (बाढीबाट ८५ घरधुरीको ३२० र पहिरोबाट ४३९ घरधुरीको एक हजार ७६१ जना मानिस) उच्च जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले गरेको सर्वेक्षण अनुसार मनसुनजन्य विपद्का घटना आइपरेको खण्डमा उनीहरुलाई तत्काल उद्धार गरेर राख्न सकिने सुरक्षित ठाउँहरुसमेत पहिचान गरिएको छ ।

तपाईको प्रतिक्रिया