खोटाङ, ३२ साउन । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले विद्यार्थीको नैसर्गिक अधिकार हनन् गरेको भन्दै विद्यार्थी सङ्गठनले आपत्ति जनाएको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृति र शैक्षिक रुपान्तरणमा विद्यार्थीले खेलेको भूमिकालाई भुलेर गाउँपालिका प्रमुख राईले विद्यार्थीको हक, अधिकारका निमित्त सङ्गठित हुने नैसर्गिक अधिकारमा अङ्कुश लगाएको विद्यार्थी सङ्गठनको आरोप छ ।
विद्यार्थीले बगाएको रगत र बलिदानीको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका गाउँपालिका प्रमुख राईले निरङ्कुश तथा तानाशाही शैलि अपनाएको विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “हामी र हाम्रो समाजले जुन राज्य व्यवस्था उपभोग गरिरहेका छौँ । यो व्यवस्था प्राप्त गर्न हजारौँ विद्यार्थीले बलिदानी दिएका छन्”, विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीले बगाएको रगत र बलिदानीको जगमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गाउँपालिका प्रमुख राईले लाद्न खोजेको निरङ्कश तानाशाही शैलि मान्य हुने छैन । गाउँपालिका प्रमुख राईको यो प्रवृत्तिप्रति हामी घोर भत्र्सना गर्दछौँ ।”
गाउँपालिका प्रमुख राईको निरङ्कुश प्रतृत्तिप्रति आपत्ती जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र नेपाल कम्युनिष् पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले विज्ञप्ति जारी गरेको छ । अखिल क्रान्किारीका जिल्ला संयोजक डार्विन चाम्लिङ र अनेरास्ववियूका जिल्ला सचिव रेसजोन राईले जारी गर्नुभएको विज्ञप्तिमा गाउँपालिका प्रमुख राईले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्गठन विस्तार गर्न रोक लगाएको आरोप छ ।