अनेरास्ववियु (क्रान्तीकारी) जन्तेढुङ्गाको अध्यक्षमा सुप्रिम तामाङ चयन

Halesi Khabar
21 Shares

खोटाङ, २ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा सुप्रिम तामाङ चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्वयवियु (क्रान्तिकारी)को प्रथम पालिका सम्मेलनले तामाङलाई अध्यक्षतामा सर्वसम्मत चयन गरेको हो ।

‘निःशुल्क शिक्षा र स्वास्थ्यका लागि हाम्रो आन्दोलन, समाजवादी शिक्षा प्राप्तिका लागि प्रथम पालिका सम्मेलन’ भन्ने नाराका साथ सम्पन्न पालिका सम्मेलनले २५ सदस्यीय पालिकास्तरीय समितिको उपाध्यक्षमा दीपशिखा राई, सचिवमा सञ्जिव नेपाली, सहसचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा रोवन कोईराला चयन गरेको छ । आसन्न १९ औँ जिल्ला सम्मेलनलाई मध्यनजर गर्दै अनेरास्ववियु (क्रान्तीकारी)ले जन्तेढु्ङ्गामा पालिका सम्मेलन गरेको हो ।

यही भदौ–१० र ११ गते दिक्तेल बजारमा हुने जिल्ला सम्मेलनका लागि प्रतिनिधि तथा पर्यवेक्षक समितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ । पार्टीका प्रदेश सचिवाल सदस्य एवम् जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा अखिल (क्रान्तीकारी)का केन्द्रीय सदस्य रविन खम्बु, जिल्ला संयोजक डार्विन चाम्लिङ लगायतको उपस्थिति थियो ।

दुई दिनसम्म चल्ने जिल्ला सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षकगरी ५२६ जना विद्यार्थी सहभागी हुने जिल्ला संयोजक चाम्लिङले जानकारी दिनुभएको छ । दश पालिका, छ क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठिन सङ्गठनबाट प्रतिनिधि तथा पर्यवेक्षक सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, बिकृति, बिसङ्गति र बेथितिकाविरुद्ध १९ औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनका लागि केन्द्रीय सदस्य एलबी मगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । जिल्ला सम्मेलनको तयारीमा जुटेका विद्यार्थी नेताहरु अहिले पालिका–पालिकामा पुगेर पालिकास्तरीय सम्मेलन गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया