दिक्तेल रुपाकोट मझुवागढीमा भदौ–४ गते सार्वजनिक बिदा

Halesi Khabar
28 Shares

खोटाङ, २ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भदौ–४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेवार समुदायको महान चाड गाईजात्रा (भदौ–४ गते)को दिन नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाले गरेको निर्णयअनुसार भदौ–४ गते नरपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु एवम् विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । गाईजात्राको अवसरमा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

गाईजात्रा पर्व खोटाङका नेवार समुदायले धुमधामका साथ मनाइने गरेका छन् । यो नेपाली समाजको एक महत्वपूर्ण साँस्कृतिक पर्व हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत मनाउने प्रचलन छ ।

गाईजात्रा पर्वलाई नेवार समुदायले मुख्य चाडको रुपमा मनाउने गरिएको नेवार मुक्ति मोर्चा खोटाङका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । “यस पर्वमा नेवार समुदायमा दिवङ्गत भएका पितृगणको सम्झनामा गाईको तस्वीरसहितको सापारु निर्माण गरिन्छ । सापारु बोकेर टोलटोल घुमाउँदै मृतकको जीवनी गाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यस दिन भजन कीर्तन तथा रामायणसमेत वाचन गर्ने चलन छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न शहर तथा ठाउँमा नागपञ्चमीदेखि कृष्णजन्माष्टीसम्म मनाउने गरिएको छ ।”

ऐतिहासिक प्रमाणअनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ । यसै बेलादेखि प्रचलनमा आएको सापारु काठमाडौँको हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी रहेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया