खोटाङ, २ भदौ । आर्थिक अभावका कारण समयमा उपचार नपाउँदा झाडापखाला रोगबाट ग्रसित बनेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशन भुजेलको ज्यान गएको छ । तीन दिनदेखि झाडापखाला रोगबाट ग्रसित बनेका युवराजका तेस्रो सन्तान दीपशनको आज (आइतबार) साँझ जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा ज्यान गएको हो ।
झाडापखालाले ग्रसित बालकलाई आफन्तले ढिलागरी उपचारमा ल्याएकाले मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताउनुभयो । “अस्पताल ल्याइपु¥याउँदा बालकको ढुकढुकी गइसकेको र आँखाको नानी फुलिसकेको थियो । सीपीआर (छाती थिचेर गरिने उपचार विधि)बाट उपचार गर्दा डेढ मिनेटजति बालकको ढुकढुकी आएको थियो । फेरि ढुकढुकी गएपछि सिकिस्त अवस्थाका बालकलाई फर्काउन सकिएन”, उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएलगत्तै हामीले मुखबाट पाइप हालेर, सीपीआर दिएर बच्चालाई रिभाईव गर्न प्रयास ग¥र्यौैँ । अस्पतालका सिनियर डाक्टरहरुसहित सबैजना जुट्दा पनि बालकलाई बचाउन सकिएन । समयमा बालकलाई अस्पताल ल्याइपु¥याएको भए बचाउन सकिन्थ्यो ।”
सिकिस्त बिरामी बालकलाई उपचारका लागि अस्पताल ल्याइपु¥याउँदा लगभग अन्तिम अवस्थामा आएको उपचारमा संलग्न स्वास्थ्यर्कीहरुले बताएका छन् । घरमा हुँदा बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको हो ।
मृतक दीपशनको परिवारमा अन्य दुईजनालाई समेत झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिनुभयो । “मृतकको बजू ६४ वर्षीया अमृता भुजेल र दिदी छ वर्षीया अरुणा भुजेललाई समेत झाडापखालाको समस्या देखिएको छ । सिकिस्त बनेका दीपशनको उपचारको क्रममा मृत्यु भयो”, उहाँले भन्नुभयो, “बिरामी भएको तीन दिन भएको रहेछ । आर्थिक अभावका कारण उपचार गर्न नलगेको भन्ने सुनेर म आफैले मोटरबाइकमा बोकेर अस्पताल लगेँ । तर, ढिला भएकाले उपचार सम्भव भएन । अन्यलाई घरैमा राखेर गाउँपालिकाले सञ्चालन गरेको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार गरिरहेका छौँ ।”
कमजोर आर्थिक अवस्थाका युवराजको छोरा दीपशनको मृत्यु भएपछि दाहसँस्कारमा समेत समस्या भएको सिनियर अहेव राईले जानकारी दिनुभएको छ । उपचारमा ल्याइएको दीपशनको मृत्यु भएपछि अन्तिम दाहसँस्कार लागि घर फर्काउन आर्थिक अभाव भएकाले चन्दा सङ्कलन गरिएको जनाइएको छ ।
मृतक बालकको दाहसँस्कार लागि साथीभाइबाट रु आठ हजार २०० रकम सङ्कलन गरेर परिवारलाई हस्तान्तरण गरिएको पत्रकार हरिबोल आचार्यले बताउनुभयो । “भुजेल परिवारको आर्थिक अवस्था कमजोर रहेछ । खर्च अभावका कारण ढिलोगरी उपचारमा ल्याइएका बालकको मृत्यु भएको भन्ने खबरले दुखित बनायो । उनीहरुसँग मृतक बालकको दाहसँस्कार गर्ने खर्चसमेत रहेनछ”, उहाँले भन्नुभयो, “अस्पतालले मृत घोषणा गरेको बालकको शव उठाउनका लागि थोरै भए पनि सहयोग रकम उपलब्ध गरायौँ । त्यही रकमले गाडी रिजर्भ गरेर दाहसँस्कारका लागि परिवारले घर फर्काएका छन् ।”
आर्थिक अभावका कारण तेस्रो सन्तान दीपशनको मृत्यु भएपछि युवराज र उहाँकी श्रीमती अनु भुजेल भावविह्वल भएका छन् । छिमेकीकामा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीको दुई छोरी र एक छोरा थिए ।
दुई छोरीमध्ये कान्छी अरुणासमेत झाडापखालाकै बिरामी छन् । उपचार अभावमा छोरा गुमाएका भुजेल दम्पत्ती छोरी र आमासमेत झाडापखालाकै बिरामी हुँदा चिन्तित बनेका स्थानीयले बताएका छन् ।
याम्खामा वि.सं. २०६५ सालमा समेत झाडापखाला फैलिएको स्थानीय बासिन्दाले बताएका छन् । उसबेला स्थानीय हरिमान कार्कीको झाडापखालाकै कारण मृत्यु भएको सिनियर अहेव राईले जानकारी दिनुभएको छ ।